पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वेको काम सकिएको छ। रन वेका निर्माण सकिएसँगै विमानस्थलको मुख्य कामको ५० प्रतिशत काम सकिएको हो।
२५ सय मिटर लम्बाइ, ४५ मिटर चौडाइ र ३४ सेन्टिमिटर मोटाइको रन–वे निर्माण सकिएको नागरिक उड्डयन प्राधिकरणका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। ‘रन–वे निर्माण सकियो। अब ह्याङ्गर र अन्य बिल्डिङ निर्माणको काम धमाधम भइरहेको छ,’ अधिकारीले भने, ‘यो सँगै अब मुख्य कन्ट्रक्सन कामको ५० प्रतिशत काम सकियो भन्दा हुन्छ।’ पूरा विमानस्थल निर्माणको काम भने अहिलेसम्म ३५ प्रतिशत सकिएको हुने जानकारी दिए।
‘इक्युपमेन्ट त पछिमात्र जडान गर्ने कुरा हो। अहिले हुने कन्ट्रक्सनकै काम हो,’ अधिकारीले भने, ‘कामको प्रगतिले यो देखाएको छ कि हामीले तोकिएको समय अगावै निर्माण सक्ने छौं।’ सिमेन्ट कंक्रिटको यो ढलान पोखरामै पहिलो पटक गरिएको र यो ३० वर्षसम्म केही नहुने उनले जानकारी दिए।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा प्रमुख काम नै रन–वे भएको र त्यो पनि सकिएपछि समय अगावै नै सकिने देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। विमानस्थलको एप्रोन निर्माण भइसकेको छ भने ट्याक्सी वे निर्माणको काम पनि भइरेको छ। मुख्य टर्मिनल भवनको काम २ तिहाई सकिएको छ भने अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ।
सन् २०२१ को जुलाइभित्र निर्माण सकिसक्ने लक्ष्य भए पनि अब सन् २०२० भित्रै पोखरा विमानस्थल सञ्चालनमा आउने देखिएको आयोजनाको दाबी छ। एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण भइरहेको छ।
इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तरार्ष्िट्रय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘४ डी’ विमानस्थल बन्दैछ। चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ। विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्याश गरेका थिए। विमानस्थल झन्डै २२ अर्ब रुपैयाँमा निर्माण सम्झौता भएको हो।