नुवाकोट आदर्श बहुमुखी क्याम्पसका प्रमुख नारायणमान डंगोललाई अखिल र अखिल क्रान्तिकारीका विद्यार्थी मोसो दलेका छन् ।
विद्यार्थीले स्ववियु चुनाव नगराएको र आर्थिक चलखेल गरेको आरोप लगाउँदै ४०-५० विद्यार्थीको समूहले डंगोलकै कार्यकक्षमै गएर मोसो दलेका हुन् । विद्यार्थीहरु भने स्ववियु चुनाव तत्काल गराउन र क्याम्पस प्रमुखको पदबाट राजीनामा माग्दै नाराबाजी गरेका छन् ।
विद्यार्थीहरुले जुत्ताको मालासहित मोसो दलेको केही समयमै डंगोल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएका छन् । जाहेरीमा डंगोलले जुत्ताको माला लगाउने, मोसो दल्ने अराजक विद्यार्थीलाई कारबाहीको माग गरेका छन । नुवाकोटका प्रहरी प्रमुखले किटानी जाहेरीमा कानुन बमोजिम कारबाही गर्न भन्दै तोक लगाइदिएका छन् ।
डंगोलले अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष विष्णुहरि रिमाल, अनेरास्ववियु क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष राजेन्द्र अधिकारी, अनिश प्याकुरेल र रिजन प्रधानको नाममा किटानी जाहेरी दिएका हुन् ।
डंगोलले क्याम्पसमा भ्रष्टाचार गरेको भन्दै विद्यार्थीहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय डंगोलले स्ववियु चुनाव रोकेको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका छन् ।