काठमाडौं महानगरपालिकाले दुई हजार २०० मिटरको दूरीमा रहेका दुई विश्व सम्पदा क्षेत्र स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक गरेको छ।
विश्व सम्पदा दिवस २०७६ को अवसरमा बिहिबार हनुमानढोकाबाट महानगरले उक्त गुरुयोजना सार्वजनिक गरेको हो। यसका लागि करिब १० करोड रुपैयाँ लाग्ने महानगरको अनुमान छ।
सम्पदा पदयात्रा नाम दिइएको गुरुयोजनामा संस्कृति तथा रितिस्थितिलाई पर्यटकीय व्यवस्थापनसँग जोडेर स्थानीय जीविकोपार्जन सुधार गर्ने र मूर्त,अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कामलाई लक्ष्य बनाइएको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिए। स्वयम्भू र हनुमानढोकाबीचमा अवलोकनयोग्य प्रशस्त संरचना रहेकाले यी स्थान तय गरिएको उनले बताए।
काठमाडौं महानगरका मूर्त एवं अमूर्त सम्पदाको पहिचान, पुस्तान्तरण तथा सम्वद्र्धनको कार्यमा गुरुयोजना महत्वपूर्ण हुने महानगरको विश्वास छ। दुई सम्पदालाई पदमार्गमार्फत जोड्ने योजना यसअघि समेत चर्चामा आएको भए पनि कार्यान्वयन हुन सकेको थिएन।