भुम्सा–बुटवल खानेपानी आयोजना राजधानीको मेलम्चीभन्दा पनि धेरै अस्तव्यस्त भएको छ । काठमाडौंबासीमा मेलम्ची परियोजना सम्पन्न भएर पानी आउँछ कि भन्ने केही आशा भए पनि बुटवलबासीमा त्यो आशा पनि मर्न छाडिसकेको छ ।
बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । आयोजनाको काम करिब ८० प्रतिशत पूरा भएको दाबी गरिए पनि राजनीतिक खिचातानीका कारण सिंगो आयोजना अलपत्र अवस्थामा छ । सरोकारवाला निकाय र दलका नेताहरू नगरपालिकाले चासो नदिँदा समस्या थप जटिल बनेको बताउँछन् ।
हाल बुटवलमा दैनिक १ करोड लिटर पानीको अभाव छ । दैनिक ३ करोड ५० लाख लिटर पानी चाहिनेमा २ करोड ५० लाख लिटर मात्र आपूर्ति हुन्छ । झुम्सा आयोजना सम्पन्न भए दैनिक २ करोड ५० लाख लिटर आपूर्ति हुँदा पानीको समस्या हुनेछैन ।
के हो झुम्सा आयोजना ?
पाल्पाको तिनाउ गाउँपालिकाअन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सुर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो । पछि भोजप्रसाद श्रेष्ठ मेयर भएपछि आयोजनाको सम्झौता पनि भयो । पछिल्लो समय नेकपाका नेता विष्णु पौडेल, कांग्रेस नेता वालकृष्ण खाँणदेखि पूूर्ब खानेपानी राज्यमन्त्री एवं रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाकसम्मले आयोजनाका विषयमा चासो राखेका थिए । तर दुई दशक बित्यो, तिनाउमा धेरै पानी बगिसक्यो तर बुटवलवासीको धारामा कमिला हिड्ने क्रम भने रोकिएको छैन ।
करोडौंको पाइप जंगलमै बेवारिसे
आयोजनाका लागि ल्याइएको २२ करोडको पाइप बुटवलको दीपनगर जंगलमा बेवारिसे अवस्थामा छ । २०७५ वैशाखमा खरिद गरिएको १० इन्च र २० इन्चको पाइप खरीदमा आर्थिक अनियमितता भएको भन्दै मुद्दा परेपछि अलपत्र भएको हो ।
भारत कोलकाताको इलेक्टो स्टिल कम्पनीबाट नेपाली सप्लायर्स वल्र्ड बाइड ट्रेडले उक्त पाइप ल्याएको हो । शिवनगर सामुदायिक वन उपभोक्ता समूहले पाइप राख्न ठाउँ मात्र दिएको अध्यक्ष नारायणबाबु बस्नेतले बताए ।
बुटवलका वडा ७ र ८ को दीपनगर र श्रवणपथमा खानेपानीको समस्या रहेको जनप्रतिनिधि नवीन पुनले बताए । खानीपानी योजनामा राजनीति मिसिएर यो अवस्था आएको उनको भनाइ छ ।
आयोजनाको पाइप खरिदबारे अदालतमा मुद्दा विचाराधीन रहेकोले पाइप अलपत्र भएको खानेपानी संस्थान बुटवलका कामु प्रबन्धक इन्जिनियर बुद्धरत्न महर्जनको भनाइ छ ।
खानेपानी आयोजनामा पहिलो र दोस्रो चरणमा गरी १५ करोड रुपैंयाभन्दा बढी खर्च भइसकेको छ । सुरुमा यो परियोजनाको बजेट ९ करोड रुपैंया थियो । पछिल्लो समय हरेक वर्ष रकम छुट्याइँदै आएको छ ।
केही वर्ष काम रोकिएको भए पनि ०६४/६५ मा झुम्सा खानेपानी आयोजाको रुपमा पुनः काम सुरु भएको थियो । खानेपानी योजनाको बाँध २ वर्षअघि पानीले बगाएपछि योजनै अलपत्र परेको हो ।
नयाँ ढंगले डीपीआरको काम सकिएको भए पनि टेन्डर भएको छैन । नियमित काम भए २ वर्षमा पूरा हुने कार्यालय प्रमुख महर्जन बताउँछन् । तर, दलका नेताहरूले डीपीआर फेर्न दबाब दिने गरेका छन् ।