सप्तरीको बोदबर्साइन नगरपालिका ३ का दलितको अन्त्येष्टि गर्ने घाटसमेत छैन । आफन्तको मृत शरीर उनीहरु आँगनमै दाहसंस्कार गर्छन् । गएको दशैँमा ६५ वर्षीय बौसदेव खत्वे मण्डलको मृत्यु भयो । दाहसंस्कार कहाँ र कसरी गर्ने परिवारलाई सकस पर्यो । उनी पुस्तौँदेखि बसोबास गर्दै आएको घरछेउमा दाहसंस्कार गरियो ।
वैदेशिक रोजगारीमा कतार गएका उनका २८ वर्षीय छोराको पनि ८ वर्षअघि यहीँ दाहसंस्कार गरिएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । बस्तीनजिक कुनै नदीनाला मात्र होइन, सार्वजनिक जमिन पनि छैन । पहिलो जलाउँदै आएको बस्तीनजिकको सार्वजनिक चिहानमा सुकुम्बासी दलित बस्न थालेका छन् ।
यो बोदेबर्साइनको मात्र कथा होइन, मधेसका धेरै दलित बस्तीको व्यथा यस्तै छ । अझ सिरहा, सप्तरीमा दलितको संख्यमात्र होइन, उनीहरुको दुःख पनि धेरै छन् । राज्यसँग पर्याप्त सरकारी जमिन छ तर तथ्याङ्क छैन । मुलुकमा १३ प्रतिशत दलित जनसंख्या रहेको सरकारी तथ्यांकमा उल्लेख छन् ।
मुलुकमा राज्यसँग कि त जमिनदारसँग मात्र धेरै जग्गा छ । त्यो जग्गाजमिन पनि बाँझो छ । अहिले पनि मिलेमतोमा भूमाफियाले हजारौँ बिघा सार्वजनिक जग्गाको लालपुर्जा बनाएर बिक्री–बितरण गरिरहेका छन् । तर, न्यायमा दलितको पहुँच नहुँदा पुस्तौँदेखि बसोबास गर्दै आएको आफ्नै घरको लालपुर्जा छैन ।