विवाहका लागि कानुनी उमेर १८ वर्ष भए पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने चलन अझै पनि कायमै छ ।
महिनावारी हुनुअगाडि नै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुने अर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको चलन कायमै रहेको दिपायलका उत्तम द्धारियाले बताए । उनले भने, “धर्म कमाउने नाममा बालविवाह हुँदै छ, बाल विवाहको अन्त हुनु जरुरी छ ।” यहाँका पहाडी जिल्ला डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, दार्चुला तथा डोटीमा प्राय: ब्राह्मण, क्षत्री तथा दलित समुदायमा उमेर नपुग्दै छोरीको विवाह गरिदिने चलन कायमै रहेको छ ।
यहाँका जिल्ला सदरमुकाममा बाल विवाहका जोडी डोली र घोडा चढेर जाँदै गर्दासमेत उनीहरुलाई कसैले पनि रोक्न नसक्दा बाल विवाहप्रशय पाएको स्थानीय मानबहादुर धामीले बताए । उनले भने, “बाल विवाह अन्त्यका लागि खुलेका संघ-संस्था तथा बाल विवाह रोक्ने अधिकार पाएको स्थानीय प्रशासन त मौन छ अरुलाई के चासो ।” कानुनमा विवाहका लागि अभिभावकको मञ्जुरीमा भए केटा र केटीको उमेर १८ वर्ष र आफुखुसी अर्थात् कानुनी विवाह गर्ने भए २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । कानुनले बाल विवाह गराउनेमा संलग्न सबैलाई सजाय तोके पनि सुदूरपश्चिममा हालसम्म कसैलाई पनि यस्तो सजाय गरिएको छैन ।
बाल विवाह नियन्त्रणका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ-संस्था क्रियाशील भए पनि नियन्त्रण गर्न सकेका छैनन् । स्थानीय बासिन्दाका अनुसार सुदूरपश्चिम प्रदेशमा कम्तीमा पनि ७० प्रतिशत बाल विवाह हुने गरेको छ । बाल विवाह नियन्त्रण गर्न जिल्लामा रहेका सरोकारवाला संघ-संस्थाले खासै चासो नदेखाएको र यहाँका बासिन्दामा जनचेतना कमीका कारण बालविवाह बढ्दै गएको स्थानीय मेखराज भट्टले बताए ।
सानै उमेरमा विवाह गरिँदा सुदूरपश्चिम प्रदेशका अधिकांश चेलीले बच्चा पाउँदा अकालमै ज्यान गुमाउने गरेको थाहा पाउँदा-पाउँदै पनि रोक्न नसकिएको दिपायल पिपल्लाकी अधिकारकर्मी तुलसी शाहीले बताइन् । उनले भनिन्, “उमेरै नपुगी छोरीको बिहे गरेपछि समस्या हुन्छ भन्ने बुझेर पनि पुण्य कमाउने नाममा बिहे गर्न थालेका छन् सम्झाउँदा मान्दैनन् कानुनी निकायले नै केही कदम चाल्नुपर्ने भयो ।”