काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो । तर, कार्यक्रम शुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रशस्तै सुनिन्छन् ।
यो अवधिमा नियम कार्यान्वयनको प्रभाव भने आंशिक मात्र देखिन्छ । कार्यान्वयन पक्ष त्यति प्रभावकारी देखिएको छैन । कार्यक्रम लागू गर्न कामपाले एक हप्तादेखि सडकको चोक चोकमा ‘नो हर्न ’कार्यक्रमबारे ब्यानरहरु टाँसी जानकारी पनि दिएको थियो । कार्यक्रम शुरु भएको केही समय कार्यान्वयन पक्ष सन्तोषजनक रहेपनि अहिले त्यो अवस्था देखिँदैन ।
सवारी चालकहरुले उक्त नियमलाई कार्यान्वयन गर्नतर्फ भन्दा पनि पुरानै शैलीमा सवारी हाँकिरहेका देखिन्छ । दैनिकरूपमा बढी रहेको सवारी साधन र कार्यान्वयनको अवस्था फितलो हुँदा उपत्यकाबासी ध्वनि प्रदूषणको मारमा परेको प्रष्ट न्छ । हाल काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधनहरु गुड्ने गरेका छन् ।
विशेषगरी कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, कलङ्की, चक्रपथ, चावहिल महाराजगञ्जलगायत चक्रपथका मुख्य चोकमा सवारी साधनले उक्त नियम उल्लङ्घन गर्ने पाइएको ट्राफिक महाशाखाले जनाएको छ ।रासस