ऐन तथा नियमविपरित औषधि बिक्री गरेको भेटिएपछि औषधि व्यवस्था विभागले मुलुकभरका १३८ औषधि पसल निलम्बन गरेको छ । नेपालमा दर्ता नभएका औषधि आयात गरेको, विना दर्ता औषधि पसल सन्चालन गरेको, प्रतिबन्धित औषधि चिकित्सकको पुर्जीविना बिक्री गरेको, दर्ता नगरी सन्चालन गरेको, पसल आधिकारिक व्यक्तिले सन्चालन नगरेको लगायतका कारण ती औषधि पसलको दर्ता निलम्बन गरिएको विभागले जनाएको छ । यस्तै, १ सय ७५ औषधि पसललाई सचेत गराइएको छ ।
विभागका सूचना अधिकारी सन्तोष केसीले औषधि पसल आफ्नो नाममा दर्ता गर्ने र पसल सन्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएपछि केही पसललाई कारवाही गरेको बताए ।
‘अहिलेको प्रमुख समस्या भनेकै औषधि पसलमा आधिकारिक व्यक्ति नबस्ने र दर्ता नभएका पसलले औषधि बिक्री गर्नु हो,’ केसीले भने, ‘आधिकारिक व्यक्ति नबस्दा त्यस्ता पसलमा भएका औषधि बिक्रीले जनमानसको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ ।’
उनले त्यस्ता पसललाई निरुत्साहित गर्न औषधि व्यवस्था विभागलगायतका निकायले कारवाहीको दायरामा ल्याइरहेको उनले बताए । प्रतिबन्धित औषधि ओसारपसार तथा सेवन, विना दर्ताको औषधि अनुमतिविना संचय तथा बिक्री वितरण, आधिकारिक व्यक्तिद्वारा बिक्री नगरिएकालगायतका गुनासा तथा मुद्दा आउने गरेको विभागले जनाएको छ ।
न्युन गुणस्तरको समस्या
मुलुकका विभिन्न फार्मेसीबाट बिक्री गरिने औषधिमा न्युन गुणस्तरका समस्या पनि देखिएका छन् । कुनै पनि औषधि कम्पनीहरुले पुर्ति गरिरहेको औषधिको लेवल, बनावट तथा रङ विभागमा जानकारी नभई परिवर्तन गरिन्छ भने त्यस्ता औषधि न्यून गुणस्तरको सूचिमा पर्ने केसीले बताए । उनले भने, ‘विभागको मापदण्डभित्र पर्ने र भारत, बेलायत, अमेरिकालगायत देशका औषधिलाई मान्यता दिएका छौं ।’
विभागले औषधिको गुणस्तरलाई न्यूनिकरण गर्न जोखिममा आधारित औषधिको अनुगमन र औषधिको नमूना परीक्षण गर्ने गरेको र समस्याहरु देखिन आएमा कम्पनीलाई सुधार्न तथा बिक्रेताहरुलाई त्यस्ता औषधि बिक्री नगर्न सुझाव दिने गरेको सूचना अधिकारी केसीले बताए । सुधार नआउँदासम्म निश्चित समयसम्मका लागि निलम्बन गरिने उनले बताए ।
नेपालमा औषधिको गुणस्तरसम्बन्धी काम राष्ट्रिय औषधि प्रयोगशालाले गरिरहेको छ । जसमा अधिकार प्राप्त २४ अधिकारीहरु औषधि गुणस्तर सुधार्न खटिएका छन् ।
कतिपय औषधिहरु चिकित्सकको सल्लाहविना बिक्री तथा सेबन गर्नुहुन्न । तर केही औषधी पसलमा यसरी बिक्री वितरण गरिएको अनुगमनका क्रममा भेटिएको विभागले बताएको छ ।
ट्रामाडोल, प्रिगाभालिनलगायतका औषधि नशाका रुपमा प्रयोग भईरहको छ । यस्ता औषधि विशेषगरी दुखाई कम गर्न चिकित्सकको सल्लाहमा लिनु पर्ने हो । तर युवायुवतीले यस्ता औषधिलाई दुरुपयोग गरिरहेको केसी बताउँछन् । ‘यस्ता औषधि लागूपदार्थ र मनोद्विपकको श्रेणीमा पर्दैनन् र तिनीहरु औषधिकै रुपमा नेपालमा प्रवेश हुन्छ । जसले गर्दा यसको अवैधानिक बिक्रीवितरणमा रोक लगाउन सकिएको छैन् । त्यसकारण विभागलाई यस्ता औषधि समस्याका रुपमा छन्,’ उनले भने । भारतसँगको खुल्ला सीमाका कारण यस्ता औषधिको प्रवेश बढिरहेको उनको भनाइ छ ।
यी समस्या निरुत्साहित गर्न र निर्मूल पार्न विभागले छिट्टै गृहमन्त्रालयसंग समन्वय गर्ने अधिकारीहरु बताउछन् ।