३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मध्यवर्ती क्षेत्रभित्रको भ्रमण गरेका छन् । पर्सा राष्ट्रिय निकुन्ज र चितवन राष्ट्रिय निकुन्ज अन्तर्गतका विभिन्न स्थानका मध्यवर्ती क्षेत्रमा पुगी मुख्यमन्त्री पौडेलले खाली जग्गाको अवलोकन तथा बसोबासका व्यवस्थापनका बारेमा चिन्ता ब्यक्त गरेका हुन् ।
मनहरी गाउँपालिका वडा नं ६ जोगीतालमा रहेको राप्तीकिनारमा उनी बिहान ११ बजे पुगेका थिए । उनले त्यहाँ नदी उकास जमिनको अवलोकन गरेका थिए । उनीसँगै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, ६ नं वडा अध्यक्ष गोपीलाल मुक्तान, ९ नं वडा अध्यक्ष साधुराम अधिकारी लगायत सहभागी भए ।
चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त नदी उकास जमिनलाई सुरक्षित गर्ने र तटबन्ध निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेमा उनको ध्यान रहेको थियो । उ
नले सार्बजनिक रुपमै औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा खोजी गरेको नबताएपनि केही दिनमै चीनबाट एउटा भ्रमण टोली आउँदै गरेको र उसले २ सय बिगाह क्षेत्र जग्गा आवश्यक रहेको बताएकाले आफैले फिल्डमा पुगेर जग्गाको अवलोकन गरेका हुन् । स्रोतका अनुसार चिनियाँ भ्रमण टोलीले विद्युतीय सबारी साधन निर्माण गर्ने उद्योगहरु स्थापना गर्ने तयारी गरिरहेको छ ।
जोगीतालमा जग्गा हेरिसकेपछि उनले स्थानीयबासिन्दालाई जग्गा उपयोग गर्ने सकिने आधारहरु तयार पार्ने निर्देशन दिएका छन् । ‘उद्योग, विश्वविद्यालय वा अन्य जे काम पनि गर्न सकिन्छ’, मुख्यमन्त्री पौडेलले भने–‘खेर गइरहेको जग्गालाई प्रभावकारी ढंगले उपयोग गर्नका लागि प्रदेश सरकार तयार छ, तपाईहरु पनि तयार रहनुहोस् ।’
अवलोकनका क्रममा ५ सय बिगाह नदी उकास जग्गा देखिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । उनले औद्योगिक क्षेत्र बनेमा मनहरी गाउँपालिकाका लागि अहोभाग्य हुने सुनाए ।
त्यसपछि जोगितालबाट फर्किएका मुख्यमन्त्री पौडेलले पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गतको चुरे क्षेत्रमा प्रबेश गरे । मनहरी गाउँपालिकाको वडा नं ४ को चुरे जंगलमा बिगत एकबर्षदेखि बसिरहेका बाढीपीडित बस्तीमा पसे । बाढीपीडितहरु भेला भएको ठाउँमा उनले सम्बोधन गरे–‘अर्का बर्खा यो रुखमुनि काट्नुपर्दैन ।’
अहिले बसिरहेको स्थान छाडेर अन्यत्रै जानुपर्ने भन्दै उनले सरकारको तर्फबाट बासको व्यवस्थापन हुने बताए । ‘तपाईहरु ढुक्क हुनूस्, प्रदेश सरकारले अर्काे बर्खा रुखमुनि काट्ने वातावरण बनाउने छैन ।’ सो कार्यका लागि उनले गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई अन्यत्र सार्न सकिने स्थान खोजेर सबैको मन्जुरीनामा संकलन गर्न निर्देशन दिएका छन् ।
२०७४ साल साउन २६ गतेको बाढीपहिरोपछि चुरे जंगल क्षेत्र मासेर २५० भन्दा बढी परिवारले बसोबास गर्दै आइरहेका छन् । त्यसैगरी नजिकै रहेको अल्पसंख्यक बनकरिया बस्तीमा मुख्यमन्त्री पौडेल पसे । उनले बनकरिया बस्तीमा पुगेर उनले एकीकृत बस्ती निर्माण गरी बनकरियालाई व्यवस्थित गरिने बताए ।
उनले अहिले वनकरिया बसिरहेको बस्ती कबुलियती वन क्षेत्र भएकाले त्यहाँबाट हटाएर अन्यत्र जहाँ जान पनि तयार रहनुपर्ने भन्दै वनकरियाका अगुवाहरुलाई घर बनाइदिने आश्वासन दिए ।
मुख्यमन्त्री पौडेलको भ्रमणका क्रममा मध्यवर्ती क्षेत्र, निकुन्ज र स्थानीयबासिन्दाको सम्बन्धको अबस्था, स्थानीय सरकारको भूमिका र आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा समेत चासो व्यक्त गरेका थिए ।