गुल्मीको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक र वडा ४ लिम्घामा पहिरोले घर बगाउँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले वडा ४ लिम्घामा ४ घर बगाउदा ९ जनाको शब फेला परेको र २ जना अझै बेपत्ता रहेको जानकारी दिए । शबको पहिचान हुन सकेको छैन । चार घरमा कति जना थिए र अन्य कति थिए भन्ने नखुलेको ढकालले बताए । उद्धारका लागि स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।
यस्तै ठूलोलुम्पेकमा स्थानीय ३० बर्षीय तिलकुमारी तरामू ,उनका छोरा बर्ष ७ का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिए । यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी तरामु घाइते भएका छन्।
ठूलोलुम्पेकको दाङसिङमा राति घर बगाउदा रुद्रबहादुर बिककी आमा माया बिक, छोरी ववि बिक, छिमेकी शर्मिला बिकको घरमा पुरिएर मृत्यु भएको हो । उनीहरुको शव भेटिएको छैन। अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन। बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थात् विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
यता गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए ।