यात्रुहरुलाई सहजताको लागि भन्दै सञ्चालन गरिएका दिल्ली– नेपाल बसले यात्रु भन्दा बढी तस्करीको समान बोक्ने गरेको खुलेको छ । दिल्लीबाट नेपाल आउने बसमा पटक पटक अवैध सामाग्री बरामद भएपछि यसको पुष्टि भएको छ । शुक्रबार पनि रुपन्देहीको शसस्त्र प्रहरीले दिल्लीबाट नेपाल आउने बसले तस्करी गरि ल्याउदै गरेको ठूलो परिमाणको लत्ता कपडा बरामद गरेको हो ।
भैरहवा भन्सार कार्यालयले चेकजाँच गरि छोडेको लु१ख ६६४९ नम्बरको बसलाई शसस्त्र प्रहरी बल ३८ नम्बर गुल्मले शंका लागी चेकजाँच गर्दा ६ लाख ५० हजार बढीको कपडा बरामद गरेको हो । यस अघि पनि पटक पटक भन्सार कार्यालयको चेकजाँच प्रक्रियामा चुक हुदै आएको छ । कहिले एउटै प्रज्ञापन पत्रमा बढी मालवाह गाडी पठाउने, कहिले चेकजाँच नै नगरि सिंगै ट्रक पठाउने भन्सार कार्यालयबाट फेरी एक पटक नेपाल–दिल्लीको बस चेकजांच नै नगरि पठाइएको छ ।
भैरहवा भन्सार कार्यालयले चेकजाँच गरेको बसमा शसस्त्र प्रहरीले पुनः चेकजाँच गर्दा उक्त बसको सीट मूनि फल्सबटन बनाई तस्करी गरी ल्याउदै गरेको बिभिन्न किसिमका महिलाका कपडाहरु बरामद गरेको शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर खातीले जानकारी दिए । भारत नेपाल चल्ने बसबाट भने यो पहिलो पटक तस्करी नभएको उनले बताए । यस अघि पनि यस्ता बसको बिभिन्न भागमा कपडा, हार्डवेयरको सामाग्री लगायतका समानहरुको तस्करी हुदै आएको खातीले बताए ।
शुक्रबार बरामद भएको बस, अवैध कपडा र बसका चालक स्याङ्गजा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३६ बर्षिय राजु सुनार र सहचालक २५ बर्षिय यम बहादुर सुनारलाई आवश्यक कार्यवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको शसस्त्र प्रहरी नायब उपरिक्षक गोविन्द बहादुर खातीले जनाए ।