गुल्मी र बागलुङको सिमानामा बग्ने बडीगाड खोलामा पर्ने तुरतुरे ताल फुटेर सडक बगाउँदा मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ।
अविरल वर्षापछि सोमबार बिहान ४ बजे ताल फुटेको हो। बडीगाड खोलामा पानीको सतह बढेपछि बडीगाड गाँउपालिका र ढोरपाटन नगरपालिकाको सीमानामा रहेको तुरतुरेताल फुटेको हो। ताल नजिकै करिव २ सय मिटर मध्यपहाडी लोकमार्ग बगेको छ। बिहान ९ बजेको समयसम्म तालको पानी बगेको बताइएको छ।
ताल एक्कासी नफुटेको र बिस्तारै खोलेको बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए। ‘एकै पटक फुटेको भए ठुलो क्षति हुन्थ्यो, बिस्तारै बगेकाले असाधारण नोक्सान भएको छैन’ ,क्षेत्रीले भने। ताल तलको करिव २ सय मिटर सडक बगेको कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अबरोध भएको प्रजिअ क्षेत्रीले जनाए।
सडकको अवस्था बुझ्न र सुचारूको विकल्पको लागि राजमार्गका इन्जीनियरसंग सहकार्य भएको उनले जानकारी दिए। लोकमार्ग तत्काल सुचारु गर्न नसकिने भएकाले वैकल्पिक मार्गको प्रयोगका बिषयमा पनि छलफल भइरहेको उनले उल्लेख गरे।
अहिले सो क्षेत्रमा रहेका बडीगाड गाँउपालिकाका अध्यक्ष मेयरसिह पाइजाले सडक अबरुद्द भएपनि अरु नोक्सान नभएको जानकारी दिए। रातीदेखि नै प्रहरी टोलीले तटीय बस्तीमा सावधानी अपनाउनका लागि अनुरोध गरेका थिए। अहिले जोखिम कम भएपनि नदी नजिक नजान अध्यक्ष पाइजाले स्थानीयलाई अनुरोध गरेका छन्।
सडक बगाएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। जिल्लाको पश्चिम बडिगाड, ढोरपाटन, निसीखोला, तमानखोला गाउँपालिका लगायतका नागरिक सिधा सवारी आवागमनबाट बञ्चित भएका छन्।
यता गएरातिको अविरल बर्षातका कारण बागलुङको तमानखोला गाउपालिका ४ मा पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको छ। अन्य ६ जना घाइते भएका छन्।
आइतबार साँझदेखि परेको अविरल बर्षातका कारण रातको करिब १ बजेको समयमा घरमाथिदेखि आएको पहिरोले पुरिँदा तमानखोला गाउँपालिका वडा नं.४ का बर्ष ४५ कि पञ्चमा सिर्पाली, ७० बर्षिय असारी सिर्पाली र १२ बर्षिय प्रविण सिर्पालीको ज्यान गएको तमानखोला ४ का वडा अध्यक्ष उदिमबहादुर छन्त्यालले बताए।
असारी र प्रविण एकै घरका बजे नाती रहेको बुझिएको छ। त्यस्तै सोहि क्षेत्रमा गएरातिकै बर्षातका कारण पाँचघर पहिरोले पुरिँदा अन्य ६ जना घाइते भएका छन्।