कपिलवस्तु र दाङमा गएराति सरकारी गाडीमा आगजनी भएकाे छ।
दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडीमा आगजनी भएको छ। शनिबार राति नै कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।
बंगलाचुलीमा आगलागीबाट रा १ झ १५२ नम्वरको बोलेरो गाडी पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। गाउँपालिकाको मुर्कटीस्थित वडा नं. ५ को कार्यालय परिसरमा पार्किङमा राखिएको उक्त गाडी कसले र किन आगजनी गरेको हो भन्ने कुरा खुल्न नसकेको एसपी पाण्डेले बताए। आफुलाई रातको १२ः ५५ बजे गाउँपालिका अध्यक्षको गाडीमा आगजनी भएको खवर आएको र त्यस लगतै स्थानीय प्रहरीलाई आगो निभाउन पठाएको एसपी पाण्डेले बताए। उनी घटनास्थलतर्फ गएका छन्।
रोल्पा जिल्लासँग सीमाना जोडिएको बंगलाचुली दाङको विकट पहाडी क्षेत्र हो। बंगलाचुलीका अध्यक्ष वली पूर्व माओवादीवाट निर्वाचित व्यक्ति हुन्। प्रहरीले भने राज्यद्धारा प्रतिवन्धित पार्टी विप्लव नेतृत्वको नेकपाले उक्त आगजनी गरेको हुनसक्ने पूर्वानुमान गरेको छ। चन्दा माग्ने विप्लव समुह वा कुनै व्यक्ति विषेशले रिसीविका कारण पनि गाडीमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
यता, कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्। गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराति आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०ः५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ।
राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। कसले र किन जलाएको बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए।