जन्मजात निधारमा पलाएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा ५ बर्षीया उमिसा चौधरीको दुबै आँखा छोपियो। उदयपुरको बेलका नगरपालिका–३ रातापानीकी चौधरी परिवारले उमिसालाई उपचारका लागि जिल्ला अस्पताल पु¥याए। त्यहाँ अप्रेशन हुन नसक्ने भन्दै चिकित्सकले काठमाडौं लैजान सुझाव दिएपछि तत्काललाई उनको उपचारमा पूर्णबिराम लाग्यो। आर्थिक रुपमा बिपन्न चौधरी परिवारले छोरीलाई घरमै राखे।
समस्या दिन प्रतिदिन बढ्दै गयो। निधारमा पलाएको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिदा उनलाई देख्नसमेत समस्या भयो। यसले चौधरी परिवारलाई कम्ति चिन्तित बनाएन। तर अहिले चौधरी परिवारको चिन्तालाई बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले खुशीमा वदलिदिएको छ।
नोबेलमा निःशुल्क अप्रेशन भएपछि उमिसाको अनुहार फेरिएको छ। चिन्ता र अन्यौलवीच उनको निःशुल्क अप्रेशन भएपछि चौधरी परिवारमा खुशीयाली छाएको छ। ‘हामी अब के गर्ने भन्ने अन्यौलमा थियौ’ उमिसाका काका मनोज कुमारले भने ‘नोबेलले निःशुल्क उप्रेशन गरिदिएर हामीलाई ठूलो गुन लगाएको छ।’
नोबेलका बरिष्ठ न्यूरोसर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकको टोलीले उनको सफल शल्यक्रिया गरेको हो। धेरै जटिल शल्यक्रियासमेत सफलपूर्वक गरेर चर्चा कमाएका डा.काफ्ले नेतृत्वको टिमले शल्यक्रिया गरी उमिसाको निधारको डल्लो निकालेपछि अहिले उनी सामान्य अवस्थामा छिन्।
डा. काफ्ले उपचार गरिएकी बालिकाको अब पुनः डल्लो नपलाउँने बताउँछन्। ‘यो जन्मजात समस्या हो। टाउकोको हड्डीभित्र रहनुपर्ने मस्तिस्क हड्डी भन्दा बाहिर निस्किदा यस्तो हुने बताउँदै उनले भित्री मस्तिस्कसँग छुट्याएर अप्रेशन गरिएको जानकारी दिए।
नोबेलले उदयपुरको बेलकास्थित रामपुरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा चौधरी परिवारले उमिसालाई ल्याएका थिए। शिविरमा जटिल शल्यक्रिया सम्भव नभएकाले अस्पताल ल्याएर उनको निःशुल्क शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिइन्।
अस्पतालले उनको उपचारमा करिव दुई लाख बराबर खर्च गरेको छ। नोबेलले यसअघि पनि उनीजस्ता कयौं गरिब, बिपन्न तथा असहाय बिरामीको निःशुल्क उपचार गरेको शर्माको भनाई छ।