आफ्नो नाममा एक पाइलो टेक्ने जमिनसमेत नभए पनि चन्द्रबहादुर दमाईको स्थायी ठेगाना सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ४ हो। स्थानीय बालकृष्ण हिमालयले कमाएर खानु भनी दिएको जमिनमा जसोतसो घर बनाएर बस्दै आएका थिए चन्द्रबहादुर। बालकृष्णको परिवारलाई भाडा बापत बर्षको ४ हजार दिएर पाएको एक हलको जमिन उनका लागि खनिखोस्रिने ठाउँ भएको थियो। जुन जमिनसँग चन्द्रबहादुरको साइनो गाँसिएको ५० बर्ष कटिसकेको छ।
दुःख गरेर बनाएको घर २०७२ सालको बिनाशकारी भूकम्पले भत्काइदिएपछि ७३ बर्षका दमाई टिनले बारेको छाप्रोमा बसेर जीवनका पछिल्ला दिन बिताइरहेका छन्। जीवनका पछिल्ला दिनमा यसरी दुःख पाउँदा उनको मन भक्कानिएको छ।
पुस अन्तिम साता चन्द्रबहादुरको छाप्रोमा पुुग्दा कठ्याङ्ग्रिने जाडोमा खाली खुुट्टामा थिए उनी। सरकारको दिएको बृद्धभत्ताले दमाई परिवारलाई भरथेग गरेको छ।
एक पाइलो टेक्ने जमिनसमेत नभएको बारेमा जिज्ञासा राख्दा उनले जिन्दगीका पुराना पाना पल्टाएर छर्लङ्ग पारिदिए। चन्द्रबहादुरको भनाईमा उनको नाममा आधा हल मेलोचाहिँ थियो रे पुख्र्यौली सम्पत्ति, पाडामरुवा भन्ने ठाउँमा। उनी सानै छँदा आमाबाबुु बितेका रहेछन्। क्रियाखर्च जुटाउँन उनलाई धौ-धौ भयो। १२० रुपैँयाँ सापटी खोजेर जसोतसो क्रियाखर्च टारे उनले। सापटी लिएको पैसा फिर्ता गर्ने समय आयो। तर उनीसँग कुनै उपाय थिएन। त्यसपछि आफूसँग भएको आधा हल जमिन बेचेरे ऋण तिरेका हुन्। विगत सम्झँदै चन्द्रबहादुर भन्छन् ‘आमाबाउको किरिया गरेको खर्च त जसरी पनि तिर्नै प¥यो नि।’
यसरी आधा हल जमिन बेच्नु परेपछि चन्द्रबहादुरको नाममा एक पाइला राख्ने जमिनसमेत नभएको रहेछ। त्यसपछि के गरे त उनले? त्यसपछिका ५ बर्ष ऐँसेलुर्खमा रहेको नेवार गुठीको पाटीमा बसेर लुुगा सिलाएर परिवार पालेको उनी झल्झली सम्झन्छन्।
त्यसैक्रममा उनले ५ बर्षजति बालीघर पनि गरे। झण्डै एक सय घरको कपडा सिलाउने काम गरे। त्यसबापत उनले पाउँथे एक घरबाट बर्षभरिकाे जम्मा ५ पाथी अन्न। यद्यपि नयाँ कपडा सिलाउँदा भने थप केही पैसा पाउँथे। यसरी सधैं पाटीको बसाई दिक्दार लागेर उनी अहिले बसेको ठाउँमा आइपुुगेका हुन्।
भुकम्पले घर भत्काइदिएपछि प्रभाबित क्षेत्रका मानिसहरु कतिले घर ठड्याइसकेका छन् भने कोही ठड्याउने क्रममा छन्। भूकम्प पीडितका लागि सरकारले दिएको ३ लाख रुपैयाँले घर बनाउन पुुग्दैन। आफ्नै जमिन हुनेले त जसोतसो घर ठड्याएका छन्। तर चन्द्रबहादुर जस्ता भूमिहीनलाई कहाँ घर बनाउने भन्ने पहिलो चिन्ता छ। त्यति पैसाले कसरी बनाउने भन्ने थप चिन्ता त छँदैछ।
चन्द्रबहादुरजस्ता भूमिहीनका लागि सरकारले घर बनाउने जग्गामात्र किन्न भनेर २ लाख सहयोग गर्ने गरेको छ। तर यसका लागि सम्बन्धित वडा कार्यालयले भूमिहीनको सिफारिस पत्र दिनु पर्दछ। चन्द्रबहादुरले पनि वडा कार्यालयबाट सिफारिस लिएर सरकारलाई बुुझाएपछि अहिले उनको नाम भूमिहीनको सूचीमा परेको छ। अब उनले घर बनाउनका लागि जग्गा किन्ने पैसा पाउने छन्। अहिले बसेको टिनको छाप्रो नजिकै बालकृष्ण हिमालयको छोराको नाममा रहेको ४ आना २ पैसा १ दाम किन्ने टुंगो लागिसकेको छ। अब सो जमिन चन्द्रबहादुरको नाममा पास गर्नमात्र बाँकी छ।
यो जग्गा आफ्नो नाममा पास गरेपछि बल्ल चन्द्रबहादुरले घर बनाउन शुरु गर्नेछन्। घर बनाउन अन्य पीडितले जस्तै उनले पनि सरकारबाट ३ लाख पाउने छन्। तर त्यसबाट घर तयार हुन नसक्ने भएपछि चन्द्रबहादुरजस्ता अति बिपन्न घरधुरीका लागि युरोपियन युनियनको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) द्धारा संचालित कार्यक्रमबाट ५० हजार रुपैंया बराबरको सामान सहयोग गरिएको छ। त्यतिमात्र होइन, सोही कार्यक्रमअन्तर्गत अति बिपन्नका लागि भूकम्पप्रतिरोधी घर बनाउने कामदारलाई थप ३० हजार बराबरको सहयोगसमेत गरिएको छ।
चन्द्रबहादुर दमाई अबचाहिँ घर ठडिनेमा ढुक्क छन्। कस्तो घर बनाउनु हुन्छ त अब? भन्छन् ‘ढुंगामाटोको ठिक्कको घर बनाउने हो।’