जनताको सुरक्षित बसोबासलाई ध्यानमा राखी मकवानपुरको एउटा गाउँपालिकाले गरिव तथा बिपन्न परिवारको घर निर्माण हुँदा आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने तयारी गरेको छ ।
जिल्लाको उत्तरपश्चिम क्षेत्रस्थित विकट कैलाश गाउँपालिकाले संघीय सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रम झैँ जनताको बासस्थानमा ध्यान दिएको हो । चालू आर्थिक बर्ष २०७५÷७६ का लागि बिनियोजित बजेटमा गरिव र बिपन्न जनताले घर बनाउँदा आवश्यक पर्ने जस्तापाता दिनेगरी योजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।
गाउँपालिकालाई खरको छानो मुक्त बनाउने परिकल्पना अनुरुप यस्तो योजना तयार गरी कार्यान्वयन प्रक्रियामा गएको अध्यक्ष मुक्तानले बताए । गाउँपालिकाले चालू आर्थिक बर्षमा कार्यान्वयन हुन गरी १५ लाख रुपियाँ बिनियोजन गरी जस्तापाता खरिद गर्न लागेको जनाएको छ ।
यसअघि सरकारले बिगत ८ बर्षअघिबाट सुरु गरेको जनता आवास कार्यक्रममार्फत यस क्षेत्रका सीमान्तकृत चेपाङलाई घर निर्माण गरिदिने गरेको छ । जनता आवास कार्यक्रमले निश्चित जाति र समुदायलाई मात्र समेटेको भन्दै गाउँपालिकाले सुरक्षित आवासका लागि लाभग्राही छनौटको आधार गरिबी र बिपन्नतालाई गरिने बताएको छ । ‘हामी जनताजातीय अथवा साम्प्रदायिक हिसाबले लाभग्राही छनौट गर्दैनौं’, अध्यक्ष मुक्तानले भने–‘संकलित निवेदनहरुका सम्बन्धमा जनप्रतिनिधिहरुको प्रत्यक्ष निगरानी र अनुगमनपछि जस्तापाता दिने निर्णय गर्नेछौँ ।’ यसो हुँदा गाउँपालिकाभित्रका चेपाङ, तामाङ र दलित समुदायले अधिक रुपमा सुविधान पाउनेछन् ।
तत्कालीन डाँडाखर्क, गोगने, कालिकाटार, भार्ता र नामटार गाविस मिलेर बनेको कैलाश गाउँपालिकाको माथिल्लो भेगमा तामाङ÷चेपाङ समुदायको अधिक बसोबास रहेको छ भने तल्लो भेगमा मिश्रित बस्ती छ । १० वटा वडा रहेको गाउँपालिकामा २३ हजार ९ सय ९२ जनसंख्या रहेको गाउँपालिकाले जनाएको छ ।