सुरुवात सनातनी सोचको सापटीबाट गर्छु। शीर्षकले महिला पाठकहरुको ध्यान खिच्यो होला। पुरुष पाठकहरुलाई खुद्रे विषय लाग्यो होला। सीमा पार गरेर नक्साको कुरा गर्नुपर्ने बेला भान्साको कुरा गर्छ भन्नुहोला। उत्पानमा जोडिनुपर्ने समयमा अनुत्पादक क्षेत्रको कुरा गर्छ भन्नुहोला। भीषण भाषण छोडेर भान्साको भुसुने कुरामा समय बर्बादको धृष्टता गर्छ भन्नुहोला। भावनाका कुरा बिर्सेर भातको कुरा गर्छ भन्नुहोला। तर, विषय सोचेर लेख्ने भन्दा उम्लिएको भावना पोख्ने रुचिले यस पटक भान्सामा भुल्न खोजेकोमा पहिल्यै क्षमा याचना गर्दछु।
बरिष्ठ पत्रकारसँगै बहुआयामिक व्यक्तित्व बोक्नुभएका पुरुषमध्येका उत्तम मेरा एक अंकलको फेसबुक वालमा केही समयअघि भाँडा माझिरहेको तस्वीर अपलोड भयो। भाषण र लेखनमा हरदम व्यस्त रहने अंकलको एप्रोनसहितको भान्से लुक हेर्न भीड जम्मा भयो। आजको भाषामा अंकलको तस्वीर भाइरल भयो। किबोर्डले कमाल ग¥यो–छिनभरमै प्रतिक्रियाको बाढी छि¥यो। यो लेख त्यही बाढीको उपद्रो हो।
लकडाउनले २ महिनाको उकालो उक्लियो। कोरोनाविरुद्धको यात्रा यति कठीन होला भन्ने सायदै कसैको कल्पना थियो। अत्यावश्यकीय सेवासँग आबद्धबाहेक अधिकांश घर कैदी छौं। कार्यालय जानै पर्नेहरु केही घन्टामै घर घुरेका छन्। घर संसार बनेको छ। बारी बनेको छ, रंगशाला बनेको छ, मधुशाला त छदै थियो, व्यामशाला र नाट्यशाला बनेको छ। सिनेमा घर बनेको छ, फन पार्क बनेको छ। प्रयोगशाला र पाकशाला बनेको छ।
भान्सासँगका केही किस्सा जोड्न मन लाग्यो। घरमा एक्ली महिला आमा भएका कारण सानैदेखि भाइ र मैले भात पकाउन सिक्नुप¥यो। कम्तिमा महिनामा ४ दिन आमाले क्याबी लिएको बेला कनीकुथी भान्से बन्नैप¥यो। रायोको साग र एक पाउ गोलभेडा प्लास्टिकमा बोकेर हिड्न लाज लाग्ने स्कूले साथीहरु भएपनि दाजुभाइको बाध्यताले बिस्तारै रहरको बाटो समात्यो। काम बाट फर्किदा होस् वा बिदाको दिन टहल्न निस्कदा, अहिले पनि कुनै नौलो तरकारी देख्दा टिपिहाल्न मन लाग्छ। थसीखेलबाट काम सकेर फर्कदै गर्दा नौलो तरकारी खाने मनले कैयांैपटक हिडेर लगनखेल पु¥याएको छ। वरिपरि पसलमा प्रशस्त तरकारी हुँदाहुँदै नयाँ केही आएको छ कि भनेर कलंकी उक्लिन कठिन भएन। अरु बाँच्नका लागि खान्छन्, म खानका लागि बाँच्छु। तर, त्यसो भनिरहँदा, धुमपान र मध्यपानको लत होइन स्वाद समेत आजका मितिसम्म थाहा छैन। महंगो मासु कोठामा वर्जित छ। रेष्टुराँको मेनु मनको मेनु कहिल्यै बनेन। घरमा घाँसपातमा रमाउने म त्यसैमा विविधताको स्वाद सकभर खोज्छु। यो बंशाणुगत बानी जस्तो लाग्छ।
भान्साका अरु काम कहिल्यै नगर्ने बुबाको एकदमै राम्रो बानी भनेको बजारबाट नयाँँ तरकारी खोजीखोजी ल्याउने हो। पुरानो बानेश्वरको तरकारी कुनोमा स्कूसको जरा (कतिलाई स्कूसको जरा उसिनेर वा तरकारी पकाएर खाने कुरा नौलो समेत लाग्न सक्छ), आलो ढुङ्ग्रे बासको तामा, टुसा, लगायत मौसमी तरकारीहरु महंगो भएपनि ल्याउने गर्नुहुन्थ्यो। फर्सीको ताजा मुन्टा, बासको टुसा, जाडो लाग्ने बित्तिकै गहतको दाल आदि घरमा प्रायः टुटेनन्। सायद त्यही बानी भाइ र ममा बसेको हुनुपर्छ।
उमेर र अवस्थाका कारण हिजोआज भान्सामा कम छिर्ने आमा अझै पनि बुबा बाहिर जाँदा झोला खोजेर केही नौलो तरकारी वा फलफुल पाइन्छ कि भन्दै झोला खोजेर दिनुहुन्छ। कहिलेकाही महत्वपूर्ण काम बिशेषले हिड्ने बेलामा समेत आमाले झोला बोक्न आग्रह गर्दा ‘कहाँ अब के कामको लागि हिड्दै छु, तरकारी बोक्न हिडेको हो’ भन्दै बुबा रिसाए पनि अन्ततः झोला बोकेको थुप्रै घटना छन्। फर्किदा झोला तरकारी फलफुलले भरिएर आउँछ ।
करिब १ वर्षअघि एकजना साहित्यसाधक अंकल कपनबाट सार्वजनिक यातायात चढेर थसिखेल पुग्नुहुन्थ्यो नेपाली पढाउन। केही समय सँगै काम ग¥यौं। प्रायः हातमा झुन्ड्याउने ब्याग बोक्ने अंकल कहिलेकाही पछाडि भिर्ने झोला बोक्नुहुन्थ्यो। त्यसका बिषयमा खासै खोजी गर्दिनथें। एकदिन कक्षा सकेर फर्किने बेलामा सोधे, ‘अङ्कल, अब घरै फर्किनुहुन्छ, होइन? उहाँले भन्नुभयो के गर्ने रञ्जन, झोलामा प्रेसर कुकरको बिर्को बोकेको छु। सिठ्ठी लाग्न छोड्यो। घरमा बुढी, छोरीलाई बनाउने त्यति मेसो छैन। लगनखेल नजिक राम्रो बनाउने ठाउँ छ, त्यही जान्छु, बिर्को बनाउँछु अनि घर जान्छु।’ धेरै वर्षअघि अंकल र हामी सँगै डेरा बस्दा पनि उहाँलाई पकाउनुपर्ने बाध्यता थियो जुन अहिले परिवार हुँदा पनि भान्सामा छोरी जातिको एकछत्र राज छैन भन्ने प्रमाण थियो त्यो परिघटना।
हुन त बन्दाबन्दीकै बीच प्रचण्डले कौसीमा मासु पकाएको तस्वीर पनि सार्वजनिक नभएको होइन। उनकै सिको गरेर होला फेसबुक दिनहुँ चमेनागृह बन्छ। तर यहाँ भोजन होइन भोकसँग गाँसिएको भान्साको कुरा हो। परिकार पस्कने पाकशालाको होइन भोक मेट्ने भान्साको हो।
के भान्सा पुलिङीहरुको पेवा हो? मलाई लाग्छ, घरेलु हिंसाको जन्मस्थलो भान्सा हो। महिला आन्दोलनको मुहान भान्सा हो। सासु, बुहारीको संग्रामस्थल र देउरानी जेठानीको दंगल हो। दाजुबहिनीको दिबार हो। छिमेकी पसलेसँग पाखुरा सुर्किन र सधियारसँग सिगौरी खेल्न उकास्कने मुहान हो भान्सा। अहिले पनि दिदीबहिनीका वेदनाका बीउहरु भान्सामै रोपिन्छन्। रुकुम पश्चिमका नवराज विक र उनका साथीहरुको मृत्युको प्रमुख कारण पनि भान्सा नै थियो।
पैसालाई पुरुषार्थसँग जोड्ने पुरुषहरुले प्राप्तिलाई प्रतिष्ठा ठानेर प्रेम गरे। पाकशालामै पेलिरहने पत्नीहरुले भने त्यसैलाई पाठशाला ठानेर पूजा गरे। श्रीमान्, श्रीमति र छोराछोरी बसिरहेको बैठक कोठमा दुईजना पाउना छिरे भने तिनलाई तातोचिसोको व्यबस्था गर्न पति भान्सा छिरेको देख्नुभएको छ? कौसीमा सुकाएको श्रीमान्को कट्टु र गन्जी सधै उठाउने श्रीमतिले आफ्नो ब्रा र पेन्टी श्रीमानले उठाइदिएको कतिपटक देखेकी होलिन्? किचनबाट अलिकति मात्रै बाहिर निस्किएर लिङ्गभेदका विरुद्ध बम झै बर्षिने हामीले कतिपटक श्रीमती, दिदीबहिनी वा घरकी महिला सदस्यको लागि नजिकको मेडिकल गएर स्यानिटरी प्याड खरिद गरेका छौं? अक्षय कुमारले चलचित्रमार्फत स्यानीटरी प्याडको उत्पादनमा ल्याएको क्रान्तिको दर्शक त पक्कै बन्यौं। असन पुगेर कतिपटक श्रीमतीका लागि चुरा, पोते, लिपस्टिक लिएका छौं? श्रीमानले जिलेट ब्लेड र फोम किन्दै गर्दा ५–१० रुपैयाँ घटाउन खोज्ने श्रीमतीहरु इन्द्रचोकको पोते पसलमा छिर्दा बाहिरै कुरिरहँदा श्रीमान् भित्र छिरेर छान्दिए हुन्थ्यो भन्दै पत्नीले सोच्छिन् भनेर कति पुरुष मनले सोच्यौं होला?
महिला हिंसाविरुद्ध वकालतकर्ताका श्रीमतीहरु आज पनि सेलाएको खाना खान बाध्य छन्। पति नजिक पिर्कामा बसेर मीठोपीठो खाने पालो कहिले पाइएला बनेर प्राण साँच्ने प्रियतमाहरु छन्। बाध्यताले सँगै बाटोमा हिड्नुप¥यो भने श्रीमतिलाई पछि छोडेर आफु अघि बढ्नेहरु छन्। बुढाबुढीलाई जाउलो खुवाउने मान्छे भएन अब बुहारी ल्याउनुप¥यो भन्ने प्रचलन कायमै छ। तीजको ब्रत तोड्न श्रीमानको तिघ्रा चाहिने चलन छ। बैठक कोठामा टीबी हर्दै भात खाने र थालमै चुठेर दिदीहरुलाई जुठो थाल उठाउन बाँध्य पार्ने भान्साको भूत लागेका भाइहरु अझै भेट्टिन्छन्।
बेसारको मात्रा मिलाउन नसक्ने बुद्धिजीवीहरु, नुन नाप्न नजान्ने नायकहरु, टिम्बुर र मरीच खुट्याउन नसक्ने खरदारसाबहरु, लट्टे र लुँडेको साग नचिन्ने लठ्ठकहरु, मीठेफापर र तीतेफापर नबुझ्ने म्यानेजरहरु, रहर र मुसुरो छुट्टाउन नसक्ने मुखियाहरु, मकैका ठेट्ना चबाउन नचहाने टाठाबाठाहरु हामीले चिनेकै हो। चुलेसीमा धार लगाउन, तिहारमा ताप्केमा सेल पकाउन, (बाध्यताका कारण मिठाई पसल चलाउने पुरुषहरुलाई छोडेर), नाङ्लोमा चामल निफन्न, आलसको छोप खोज्न र जाइफल जोहो गर्न जाँगर नबटुल्ने पुरुषहरुको राष्ट्र विकासको बुलेटिन नसुनेको हो र?
तर, आज व्यबस्थासँगै अवस्थाहरु बिस्तारै बदलिदै छन्। केही कमाल टीएलसीको हुनुपर्छ। केही कमाल महिला र पुरुषहरुले मिलेर भान्सा तयार गरेको देखाउने युटुबको स्पोन्सर्ड विज्ञापनहरुको हुनुपर्छ। केही कमाल ओबेसीटी (मोटोपना) र केही कमाल रोगहरुको हुनुपर्छ अनि केही कमाल दशकौंदेखिको भान्साको रजाईविरुद्ध सौता लागेको जंक फुड बिस्थापित गर्न बारम्बार बकबक गरिरहने डा. अरुणा उप्रेतीका कारण हुनसक्छ। आजभोलि चेतनाको चङ्गा आकाशमा स्वतन्त्र उड्न खोज्दैछ। पढ्ने र पैसा कमाउने काममा पुरुष तानाशाह तोडिएको छ। लिप्स्टिक लतपतिएका ओठहरुमा अवसरका आवाजहरु अटाउन थालेका छन्। भान्साको भोगचलनमा गृहलक्ष्मीहरु मात्र होइन भीषण भाषणको दाबा गर्ने भुँडीहरु पनि भाग लिन थालेका छन्। अब समताको स्कूलको सुरुवात इस्कुसका काँडा ताँछ्ने सीपसँग जोडिन पुगेको छ।
घरका महिलासँगका सम्बन्धका आधारहरु साँच्चिकै प्रेमिल बन्नुपर्छ। प्रेममा आदर, चियामा बिस्कुट मिसिएझै लपक्क मिसिनुपर्छ। आक्कलझुक्कलको चुम्बनभन्दा सधैको चामल, कहिलेकाहीको आलिंगनभन्दा रातोदिनको आलुप्याज, वर्षको बर्थ डे उत्सवभन्दा डाडुपन्युसँग जोडिने दैनिकी र बैबाहिक वर्ष गाँठका धुमधाम भन्दा धनियाँ र गोलभेडाको नित्य अचारको साथ सम्बन्ध टिकाउने स्तम्भ हुन्। फेसबुकमा फुत्तफुत्त निस्किने पतीपत्नीका फोटा र टिकटकका ड्रामाहरु पारिवारिक सम्बन्धका सेतुहरु बन्छन् भन्ने के सुनिश्चित छ र?
आशा गरौं यो गृहबन्दीले भान्साको शासन कति सकसपूर्ण रहेछ भन्ने सिकेर श्रीमतीप्रति सम्मान गर्न श्रीमानहरुलाई सिकाउने छ बाध्य बबुराहरु त छदै छौं रहरमा रतिनेहरु पनि अब बन्दाबन्दी खुकुलो भएसँगै प्रत्येक दिन व्यस्त समयबाट सापटी लिएरै भएपनि भात भान्साको भाषण भन्दा तिहुँन र तरकारी ओइरिन तम्सिने हो कि? यसले अरु धेरै ‘वाद’ र ‘वादी’ हरुको वकालत भन्दा पनि एउटा परिवार प्रेमपूर्वक पालिन पहल गर्छ। परिवर्तनको प्रस्थानविन्दु भान्सा हुनुपर्छ। अलगधारको पछिल्लो पुस्ताले यसको नेतृत्व लिनुपर्छ। धेरै वर्षअघि हरिवंश आचार्य र सुक्मित गुरुङले गाएको युगल गीतका शब्द सापटी लिएर आजलाई बीट मार्छु।
तिम्रो माया उनान्सय, मेरो माया सय
एक थप्छु म पनि हुन्छ दुइ सय
बराबर तिम्रो मेरो माया बराबर
बिहान उठी कुचो लाउँछु, तिमी पानी ल्याउनु
भात म पकाइदिन्छु, तिमी लुगा धुनु
कोरीबाटी तिमी गर्देउ, टिफीन म बनाउछु
९ बजे छोरीलाई स्कूल पु¥याउछु
भान्सा कुरिहन्छु तिमीलाई सँगै भात खानी
भात खाइ भाडा माझ्छु, तिमी हाल्देउ पानी
काम थोरै फुर्सद धेरै, गाहे दिन काट्न
आजैदेखि जान्छु म नि कम्प्युटर सिक्न
बराबर तिम्रो मेरो इलम बराबर..........