डडेल्धुरामा कोरोना परीक्षणका लागि पीसीआर मेशिन खरिद गर्न ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा सहयोग संकलन अभियान चलाइएको छ। यो अभियानमा हालसम्म करिब आधा करोड रकम जम्मा भइसकेको छ।
जनस्तरबाट हालसम्म करिब ४८ लाख रुपैंया जम्मा भइसकेको छ। अभियानको सुरुवात श्याम तायल र मानसिंह सावद लगायत ह्युमानिटी फाउण्डेसनको तर्फबाट १८ लाख रकम उठेको छ। त्यसैगरी पछिल्लो दुई दिनमा धनगढीबाट झण्डै १८ लाख रकम उठेको छ। त्यसैगरी अमेकिामा १० हजार ३०० डलर उठेको छ । विभिन्न देशकहरुमा रकम संकलन हुने अभियान जारी रहेको ह्युमानिटी फाउण्डेसनले जनाएको छ।
डडेल्धुरामा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा सञ्चालित सहयोग संकलन अभियानमा धनगढीका बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवालले १० लाख रुपैंया सहयोग गरेका छन्। सुदूर पश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दाको कोरोना परीक्षणका लागि डडेल्धुरामा पीसीआर मेसिन खरीद गर्न लागिएको हो। ‘मैले पहाडमा अहिलेसम्म खुट्टा टेकेको छ्रैन,यद्यपि यो मन त पहाडमै छ, डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि ह्युमानिटी फाउण्डेसनलाई सहयोग प्रदान गर्ने क्रममा भने, यो पटक डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका क्रममा पाईला टेक्नेछु ।’
त्यस्तै आरपी ग्रुपका सञ्चालक राजकुमार अग्रवालले ३ लाख ५१ हजार रुपैया प्रदान गरेका छन्। अग्रवालले भने, ‘समाज संकटमा परेका बेला मैले कमाएको सम्पत्ती यो समाजको काम नआए त्यसको के अर्थ । यही सोचले सहयोग गरेको हुँ ।’ त्यसैगरी बरिष्ठ आँखा चिकित्सक डाक्टर विद्याप्रसाद पन्तले च्यारिटी हेल्थ फाउण्डेसन र व्यक्तिगत तर्फबाट दुई लाख प्रदान गरेका छन्। सेती प्रादेशिक अस्पतालमा कार्यरत नर्स भवगती बडालले १० हजार रुपैया सहयोग गरिन् भने नेपाल टेलिकम वकर्स युनियन क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र कठायतले युनियनका तर्फबाट १५ हजार रुपैया हस्तान्तरण गरेका छन्।
यो अभियानमा मिश्र जनरल स्टोर, धनगढीले एक लाख रकम सहयोग गरेको छ। खेमराज मिश्र र उनीहरुका छोराहरु गणेश मिश्र र प्रशान्त मिश्रले फाउण्डेसनलाई सहयोग गरेका हुन् । उनीहरुले आफै वोलाएर सहयोग गरेको ह्युमानिटी फाउण्डेसनका अध्यक्ष श्याम तायलले बताए। धनगढी आसपासका क्षेत्रका वासिन्दाहरुले सक्दो सहयोग गर्दै पिसिआर मेसिन स्थापनाका लागि सहयोग गरिरहेका वेला विदेशमा पनि यो अभियान थालिएको छ । संसारका विभिन्न देशमा छरिएर रहेका नेपालीहरु र त्यसमा पनि सुदुरपश्चिमेलीहरु पिसिआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन्।
अमेरिकामा आनन्द बिष्ट, रामवहादुर देउवा लगायतको अगुवाईमा अभियान जारी छ। पीसीआर प्रयोगशाला स्थापनाका लागि सुदूर पश्चिम समाज अमेरिकाले सवैभन्दा पहिले सुरु गरेको सहयोग संकलन अभियानलाई अमेरिकाका विभिन्न राज्यमा बिस्तार गरिएको छ। सुदूर पश्चिम समाज न्यूयोर्क, केन्टुकी, मेरिल्याण्ड, विस्ककिन्सन, टेक्सास, क्यालिफोर्निया, भर्जिनिया, म्यासाचुट्समा अभियान सञ्चालित छ।
यसैगरी युरोपका विभिन्न देशमा रहेका सुदुरपश्चिमेलीले पनि यो अभियानमा सक्दो सहयोग गरिरहेका हुन्। युरोपका वेल्जियम, नर्वे, वेलायत, डेनमार्क लगायतका देशहरुमा अभियान सञ्चालन गर्दै रकम संकलन गरिरहेका छन् । एनआरएनएकी युरोप महिला संयोजक योगिता थापा (वेल्जियम), जितेन्द्र शाही (नर्वे), महेश खत्री (डेनमार्क), सुरेन्द्र ढुंगाना (बेलायत) ले अभियानको नेतृत्व गरेका छन्।
अष्टेलियामा एनआरएनए अभियन्ता स्वतन्त्र प्रताप शाहले पिसीआर मेसिन जडानका लागि अभियान संञ्चालन गरेका छन् । १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएको उनको भनाई छ। दक्षिण कोरियामा अग्नी कोईरालाले नेतृत्व गरिरहँदा जापानमा आशिष रावल लगाएत सुदर पश्चिमेलीहरुले अभियान बढाई रहेका छन्।
यसैबीच, गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाले संसारभरीका नेपालीमा सहयोगको अपिल समेत गरेका छन् । संघका पुर्व कोषाध्यक्ष हिक्मत थापाले हालको अवस्थामा धनगढीमा रहेको एकमात्र प्रयोगशालाले धान्नै नसकिने गरी कोरोनाको नमुना जाँचका लागि थ्रोट स्वाब संकलन भएको र सुदुर पश्चिमका सात वटा पहाडी जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पतालमा मेसिन थपिनु अत्यन्तै आबश्यक रहेको बताएका छन्।
हाल अफ्रिकी देश नाइजेरियामा कार्यरत थापाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर मेसिन सहितको प्रयोगशाला स्थापना र पिसीआर किटहरु उपलब्ध गराउनका लागि ह्युमानिटी फाउण्डेसन नेपाल धनगढी र प्रवासमा रहेका सुदूरपश्चिमका गैरआवासीय नेपालीहरु जुटिरहेको बताउँदै यसमा सहयोग गर्न सबैलाई अनुरोध गरेका हुन्।
यसैगरी न्युयोर्कबाट नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिस्टले संसारभरका सुदुर पश्चिमेलीलाई यो अभियानमा सहयोगका लागि आग्रह गरेका छन्।