बारा जिल्लाको सुवर्णपुर गाउँपालिकाको कवहीगोठमा प्रहरी र तस्करसमूहबीच झडप हुँदा तीन प्रहरी र एक बालक घाइते भएका छन्।
भारतबाट तस्करीका सामान ल्याएकाहरुसँग भएको झडपका क्रममा प्रहरीको गोली लागेर स्थानीय १४ वर्षीय रन्जन यादव गम्भीर घाइते भएका छन। उनको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, प्रहरीतर्फ घाइते भएका सई वीरेन्द्र गिरिसहित तीन जनाको कलैयामै उपचार भइरहेको छ। घाइते बालकको टाउकोमा गोली लागेको छ।सो भीडन्तमा प्रहरीले आत्मसुरक्षाका लागि हवाई फायर गर्दा बालक घाइते भएको प्रहरीको भनाई छ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा लुकिछिपी प्याज ओसार्ने र बिक्री गर्ने क्रम चलिरहेको थियो। त्यसैक्रममा गएराति भारतबाट मोटरसाइकलमा प्याज ल्याएर आएकाहरुलाई सीमा क्षेत्र नजिकैको नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लियो। त्यसपछि थप स्थानीयसमेत आएर प्रहरीहरुमाथि आक्रमण गरी प्याज लगेर गएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।