लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस अन्तर्गत सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा लागु औषध के हो ? यसका असर, यसबाट छुटकारा पाउने तरिका र यसका प्रकार तथा कच्चा पदार्थहरुको बारेमा प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले प्रस्तुतिकरण गरेका थिए।
लागु औषध ओसार पसार तथा दुरुपयोग चीन तथा तिब्बतबाट भए पनि खुला साीमाका कारण स्थलमार्ग तथा हवाईमार्गबाट पनि भित्रिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए। लागु औषध एउटा चिन्ता र चासोको विषय भएकोले यसको न्यूनिकरणमा सबै मिलेर सशक्त रुपमा लाग्नु पर्ने नेपाल पत्रकार महासंघकी जिल्ला उपाध्यक्ष श्वेता गिरीले बताइन्।
कपिलवस्तुमा आर्थिक वर्ष २०७७।७८ मा लागु औषधमा विभिन्न उमेरका ६१ जना अभियुक्त पक्राउ परेका छन्। यो आर्थिक वर्षमा चरेश ४१ किलो, गाँजा डेढ किलो, अफिम १० किलो ८ सय ग्राम, कोरेक्स १ पिस, विभिन्न किसिमका क्याप्सुल १ हजार ९ सय ५९ र ट्याबलेट ३ हजार ७ सय ४९ ओटा बरामद गरिएको छ।
कार्यक्रममा समुदायिक प्रहरीका अध्यक्ष देवि बर्मा, गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रविण श्रीवास्तव, जिल्ला समन्वय अधिकारी भुमिराम पोखरेल लगायतको सहभागिता रहेको थियो।