नजिकिँदै गरेका दशैँ र तिहारलगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सुरक्षा योजना बनाएको छ।
योजनाअनुसार २४सै घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र मातहतका एकाइका संवेदनशील स्थान, सीमा नाका, तथा राजमार्गमा पनि कडाइका साथ जाँच गर्नाका साथै राजमार्ग, बजार क्षेत्रमा मोबाइल गाडी, मोटरसाइकल र साइकलबाट गस्तीको व्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
आपराधिक गतिविधि हुने संवेदनशील स्थान पहिचान गरी प्रहरी खटाएका छौँ उनले भने, “महत्वपूर्ण स्थान, रेष्टुरेण्टमा गैरकानूनी क्रियाकलाप हुन नदिन खानतलासीको व्यवस्था पनि मिलाइएको छ ।”
प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार भीमदत्तनगर बजार क्षेत्रको बसपार्कमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ । भारतबाट वैदेशिक रोजगारी गरी सीमा नाका गडडचौकी भएर फर्किने नागरिकको सहयोगका लागि प्रहरीले इप्रका गडडचौकीमा नागरिक सहायता कक्ष राखेको छ ।
“सीमा नाकामा लागूऔषधलगायत अन्य अवैधरूपले ल्याइएका वस्तु जाँचका लागि तालीमप्राप्त कुकुर प्रयोग गरिने व्यवस्थासमेत गरेका छौँ”, उनले भने “आवश्यकताअनुसार बजार र अन्य क्षेत्रमा सादा पोशाकमा प्रहरीसमेत परिचालन गरिने छ ।”