स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकार चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारीमा रहेको बताएका छन्।
मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन हुन नसक्दा चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी उत्पादन हुन नसकेको बताउँदै यस्तै अवस्था रहे नेपालमा पाँच वर्षपछि नर्स र चिकित्सक पाउनसमेत कठिन हुने बताए।
उनले अस्पतालहरुको बेथिति सुधार गर्ने कुरामा आँफूले कसैसँग पनि सम्झौता नगर्ने स्पष्ट पारे। अस्पतालहरुमा अहिले पनि २२ वर्षअघिको कर्मचारी दरबन्दी रहेको भन्दै उनले जनताको सेवाका लागि दरबन्दी थप गरिने उल्लेख गरे। दरवन्दी थप गर्ने बिषयमा अर्थ मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले परिपत्र गरिसकेको उनको भनाइ छ।
मन्त्री बस्नेतले आफु अहिले निःशुल्क स्वास्थ्य उपचारको अभियानमा रहेको बताउँदै पैसाको अभाबमा उपचार नपाएर कुनै बिरामी मर्न नहुने बताए। फरक प्रसंगमा बोल्दै उनले भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आफु सकारात्मक रहेको बताए।