नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ ।
हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ । यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग रमाउने क्षेत्रकै रुपमा विश्वमा परिचय बनाएको हिमाली जिल्ला मनाङको मुहार बिस्तारै फेरिँदै गएको छ । विश्वले स्वर्गका रुपमा बयान गर्ने र प्रचारप्रसार गर्ने मनाङमा जलवायु परिवर्तन त टाढाका कुरा हुन् । मनाङलाई प्रत्यक्ष रुपमा देखिने र भेटिने कुराले नै कुरुप बनाउन थालेको छ ।
विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । विभिन्न खालका प्रदूषण पनि बढ्दो छ । प्रत्यक्ष रुपमा जलवायु परिवर्तनको असर देखापरेको छ । यसका साथै मानवीय तवरबाट हुने अन्य फोहरमैला पनि बढ्दै छ । यात्रामा निस्कने पर्यटक तथा स्थानीयले हिमाली क्षेत्र र चिसो भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिएका छन् । प्लास्टिकका प्याकेटका खाद्यवस्तुको वजन कम हुँदा उपयोग बढेको पाइन्छ । यसबाट निस्कने प्लास्टिकजन्य फोहरमैला मनाङमा बढ्दै गएको छ ।
मनाङमा वर्षा
कम पानी पर्ने परिचय बनाएको मनाङमा बिस्तारै वर्षा हुन थालेको छ । जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँका प्रकृतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । विसं २०७८ जेठ १४ र असार १ मा मस्र्याङ्दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रुपमा विश्वले लिएको छ ।
यही बाढीले यहाँका प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ । यसले पनि यहाँको प्राकृतिक रुप फेरिएको छ । कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताए । उनले भने, “हामी जन्मिएर बुढो भयौँ । मस्र्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के फेरिँदैछ कुन्नि पहिले नआउने नदीमा बाढी आयो ।” बाढीले भौतिक पूर्वाधार र यहाँको प्रकृतिलाई धेरै असर पु¥याएको छ । उहाँले भन्नुभयो, “नदीको वितण्डाले घर, बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।” शान्त र सुन्दर वातावरण रहेको मनाङ अहिले फेरिँदै गएको छ ।
पदमार्ग र हिमाल जोखिममा
हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो । हिमाल र पदमार्ग नै जोखिममा छन् । हिउँ माथि सर्दै गएको छ । जसले बगर र कालापत्थर बन्ने क्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको विज्ञको भनाइ छ ।
विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले हिमालमा प्रभाव देखिने गरेको विज्ञको बुझाइ छ । पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक यहाँ आउँछन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीय याङदुङ गुरुङ बताउँछन् ।
उनी भन्छन्, “बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।” पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड छ । हिउँमाथि सरेसँगै हिमालको तल्लो क्षेत्रमा पातपतिङ्गर बिनाको पहाड बनेको छ ।
ती ठूला चट्टानयुक्त पहाडमा न त खेतीपाती हुन्छ । उपयोगविहीन चट्टान देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय गुरुङ बताउँछन् । “प्रस्ट उदाहरण हेर्ने हो भने गङ्गापूर्ण ताल नै देख्न सकिन्छ”, उनी भन्छन्, “अरू के खोज्ने हो र ? हामीले हेर्दा हेर्दै सुक्यो त ताल ! यहाँ सुक्यो अरू ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अन्तबाट ल्याउनुपर्ने भएको छ ।
ताल हराउँदै
मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीयस्थल झैँ बनेको छ । केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदी भने तस्बिरमा मात्रै सीमित हुन थालेका छन् ।
माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झनुहुन्छ । उनी भन्छन्, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले पर्यटक तान्न सकिएला भन्ने थियो । यो ताल अहिले मैदान झैँ बनेको छ ।” घले भन्छन्, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भौगर्भिक बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ । अनुसन्धान समूहका एक अनुसन्धाता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ ।रासस