पूर्व सांसद एवं सिभिल तथा ऋण सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पति शुद्धीकरणको कसूरमा दोषी ठहर भएका छन्।
विशेष अदालत, काठमाडौंले तामाङसहित उनको परिवारका सदस्यहरु सिर्जना शाक्य तामाङ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङलाई पनि दोषी ठहर गरेको छ।
सहकारीका दुई हजारभन्दा बढी बचतकर्ताले जम्मा गरेको रकम आफू सम्बद्ध कम्पनी, संस्था र निजी सम्पतिका रुपमा लगानी गरेर अवैध धनलाई वैध बनाएको आरोपसहित सम्पति शुद्धीकरण अनुसन्धान विभागले २०७८ मंसीरमा मुद्दा दायर गरेको थियो। मुद्दा दर्ता भएको दुई वर्षपछि कसूर ठहर भएका हो। यसैगरी, बिशेष अदालतले केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई पनि दोषी करार गरेको छ।
न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार कसूर ठहर गर्दै सजाय निर्धारणका लागि पेशी तोक्न भनेको छ। तामाङ ठगी कसूरमा अहिले पनि थुनामा छन्। ठगी कसूर सम्बन्धी मुद्दा भने जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ।
इच्छाराजले तीन अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँको स्रोत खुलाउन नसकेको आरोप छ। त्यस्तै सिर्जनाले एक अर्ब ३० करोड ९३ लाख ९५ हजार ८०२ रुपैयाँ, प्रतिक्षाले ६ करोड ४७ लाख ४६ हजार २५० रुपैयाँ, प्रतिष्ठाले एक करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ अवैध सम्पति जोडेको आरोप छ।
यसैगरी, केशवलालले २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाको अवैध सम्पति भेला पारेको आरोप छ। सबै अवैध सम्पति जफतसहित उक्त रकम बराबरको बिगो र जरिवाना तिराउने मागसहित मुद्दा दायर भएको थियो। मीनाकुमारीलाई भने अवैध सम्पति जफतका लागि प्रतिवादी बनाइएको छ।