वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै छ सयभन्दा बढीलाई ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्जोसोम गाउँपालिका–४, ललितपुर बस्ने ३२ वर्षीय विकाश वाइवा रहेको उपत्यका अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ ।
पक्राउ परेका उनलाई प्रहरी आज सार्वजनिक गरेको हो । निजलाई ललितपुरको लेलेबाट पक्राउ गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निज तामाङले नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरुमा पठाइदिन्छु भनी प्रलोभनमा पारी छ सय जनाभन्दा बढी व्यक्तिहरुबाट करोडौँ रकम ठगी गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
निजले विसं २०७३ सालबाट अयुस म्यानपावरलगायत विभिन्न मेनपावरमा एजेन्टका रुपमा करिब पाँच वर्ष काम गरी विभिन्न व्यक्तिहरुलाई दुबई, कतार मलेसियामा पठाएको प्रहरीको भनाइ छ साथै २०७७ सालमा ठगी तथा अपराधिक लाभसम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको, २०८० वैशाखमा आफूलाई विकाश वाइवा भनी नक्कली परिचय दिई बालाजुमा युरो विग्ङ्स एजुकेसन कन्सलटेन्सी सञ्चालन गरेको पनि प्रहरीले जानकारी दिएको छ ।