इण्डियन आर्ट्स एण्ड लिटरेचर सम्वन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।
यहि मार्च ९ देखि १० सम्म भएको अनलाईन सम्मेलन क्यालिफोर्निया इस्टिच्यूट अफ इन्टिग्रल स्टडिज अमेरिकाका प्रा. देबाशिस बनेर्जी, त्रिवि अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसका डा. खुमप्रसाद शर्मा, ब्रजलाल कलेज बंगलादेशका प्रिन्सिपल सरिफ अतिक्वाजमानले संयुक्त रुपमा आयोजनामा गरेका हुन्।
सम्मेलनको उद्घाटन गर्दै भारतीय शिक्षा मण्डलका संगठन मन्त्री श्रीशंकरानन्दजीले दक्षिण एसियाभर संगीत, कला, धर्मका साथै सांस्कृतिक र साहित्यिक आदानप्रदान कार्यक्रम फैलाउन यस क्षेत्रका विद्धानहरुले दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए। सम्मेलनका प्रमुख वक्ता प्रा. देबाशिस बेनर्जी रहेका थिए।
सो सम्मेलनमा नेपालको तर्फबाट डा. खुम शर्माले दक्षिण एसियाली साहित्यमा नेपाली साहित्यको योगदानको स्मरण गराएका थिए। सम्मेलनमा नेपालबाट १० जनाको सहभागिता रहेको थियो। सम्मेलनमा ब्रजलाल कलेज बंगलादेशका प्रिन्सिपल सरिफ अतिक्वाजमानले बंगलादेश र बंगला साहित्यको महत्वबारे प्रकाश पारेका थिए। सम्मेलनमा ब्रजलाल कलेजको अंग्रेजी विभागका प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।
सम्मेलनमा बुचरेष्ट युनिभर्सिटी रोमानियाको इकोनमी स्टडिजका डा. दन रादलेर, नोटरे दे नामुर यूनिभर्सिटी क्लालिफोर्नियाका डा. इनरिको बेल्टामिनी, एलिजाबेथोन कलेज पेन्सिलभेनियाका प्रा. डी. लङ, यूनिभर्सिटी अफ नर्थ क्यालोरिना एसेभिल्लेका प्रा. किया माइत्रा, भारतीय कवि तथा अनुवादक मनि राओ, जवारहलाल नेहरु विश्वविद्यालय नयाँदिल्लीका प्रा. सी. उपेन्द्र राओ, विद्यासागर विश्वविद्यालय भारतका डा. इन्द्रनील आचार्यले पनि सम्मेलनको महत्वबारे प्रकाश पारेका थिए।
भात्तेर कलेज दान्तन पश्चिम बंगालका प्रा. तरुण तपस मुखर्जीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संयोजन अंग्रेजी तथा फरेन ल्याङ्वेज युनिभर्सिटीका डा. जई सिंले गरेका थिए। करिब २०० जनाको सहभागिता रहेको सम्मेलनमा दक्षिण एसियाली साहित्य सम्बन्धी ४४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
सहभागीहरुले सम्मलेन कोशेढुंगा सावित भएको भन्दै आगामी दिनमा दक्षिण एसियामा साहित्यिक सांस्कृतिक आदानप्रदानका कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका छन्।