दृष्टि विशेषज्ञको अभावलाई पूरा गर्न हिमालय आँखा अस्पताल पोखराले यो वर्षबाट दृष्टि विशेषज्ञको स्नातक तहको (ब्याचलर अफ साइन्स इन अप्टोमेट्रिस्ट) पढाइ सुरुवात गर्न लागेको छ।
विभिन्न तहमा मानव संशाधनका तालिम गर्दै आएको अस्पतालमा नेत्र सहायक अर्थात प्रवीणता प्रमाणपत्र तहको पढाइ हुँदै आएको थियो। आँखाको उपचारलाई चुस्त र प्रभावकारी बनाउने क्रममा अस्पताल र पोखरा विश्व विद्यालयको संयुक्त आंगिक कार्यक्रमको रुपमा अस्पतालले सो विषयमा पढाइ सुरुवात गर्न लागेको हो।
अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले विश्व विद्यालयको नीति नियममा रहेर मंसिर १५ गतेदेखि कक्षा सुरु गर्ने जानकारी दिए। अस्पतालको रजत जयन्तीको अवसरमा चलाउन लागिएको चार वर्षे शैक्षिक कार्यक्रमका लागि दुवै शैक्षिक संस्थाबीच सम्झौतासमेत भइसकेको छ।
त्यस कार्यक्रम सञ्चालनका लागि अस्पताल अन्तर्गत हिमालय नेत्र अध्ययन प्रतिष्ठान गठन गरिएको छ। कार्यक्रमको सञ्चालन र व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नेत्रज्योति संघ कास्कीका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्री नेतृत्वमा सचिव सुरेन्द्र थापामगर, सदस्य वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, प्रशासक वामदेव सुवेदी र विश्व विद्यालयका प्रतिनिधि सदस्य रहने गरी ७ जनाको व्यवस्थापन समितिसमेत गठन गरिएको छ।
‘अस्पतालले २ वर्षको लगातार प्रयासपछि आँखा विशेषज्ञको पढाइ सुरुवात गर्न लागेको छ,’ डा. महर्जनले भने, ‘कार्यक्रमको अध्ययनका लागि विज्ञान विषयमा प्लस टु तथा सो सरह पास भएका विद्यार्थीले प्रवेश परीक्षामा उत्तीर्ण भएकामध्ये मेरिट लिस्टमा आधारमा मात्र भर्ना पाउनेछन्।’ पहिलो वर्ष १६ जनाले भर्ना पाउने जानकारी दिँदै उनले सेमेस्टर प्रणालीमा कक्षा सञ्चालन हुने बताए। उनले ४ वर्षे कोर्स पूरा गर्न करिब ८ लाख रुपैयाँ खर्च लाग्ने उनले जनाए।
कोर्सको स्कोप राम्रो भएकाले उत्पादित जनशक्तिले आँखा अस्पताल, आँखा उपचार केन्द्रमा सहजै रुपमा रोजगारी पाउन सक्नेछन्। चस्मा लगाउनुपर्ने समस्याका विशेषज्ञको रुपमा रहने त्यस्तो जनशक्तिले स्वरोजगारको रुपमा आँखा जाँच तथा चस्मा पसल चलाएर गुजारा चलाउन सक्ने उनले उल्लेख गरे।
उनले शिक्षण अस्पतालबाट वार्षिक ८ र वीर अस्पतालको नाम्सबाट ४० जना त्यस्ता जनशक्ति उत्पादन हुने जानकारी दिए। ४ वर्षे कोर्स पूरा गरेका विद्यार्थीले मास्टर डिग्री अर्थात आँखा विशेषज्ञको अध्ययन गर्न सजिलै पाउने छन्। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सन् २०२० सम्ममा ७ सय दृष्टि विशेषज्ञ आवश्यक पर्छ। नेपलिज एसोसिएसन अफ अप्टोमेट्रिस्ट (एनएओ) मा अहिलेसम्ममा तीन सयजना दृष्टि विशेषज्ञ दर्ता भएका छन्। डा महर्जनले नेपालमा ४ सय दृष्टि विशेषज्ञ अपुग रहेको बताए।
नेपाल नेत्रज्योति संघ कास्कीका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले गण्डकी, धौलागिरी र कर्णालीलाई कार्य क्षेत्र बनाएको अस्पतालले वार्षिक १ लाख ४२ हजार ९ सय ९४ जना आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको जानकारी दिए। उनले वार्षिक ८ हजार ४२ जनाको आँखाको शल्यक्रिया गरेको बताए। आई केयर फाउन्डेसन नेदरल्यान्डको सहयोगमा सन् १९९३ मा स्थापना भएको अस्पतालभन्दा बाहिर आँखा शिविर लगायत कार्यक्रममा ५४ हजारलाई सेवा दिएको उनले उल्लेख गरे।
कार्यक्रममा नेत्रज्योति संघ कास्कीका सचिव सुरेन्द्र थापा मगर र कोषाध्यक्ष डा. नन्द श्रेष्ठले अस्पताल आँखाको उत्कृष्ट दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको रुपमा परिचित भएको दाबी गरे।