विश्व सिमसार सूचीमा सूचीकृत कपिलवस्तुको जगदीशपुर ताललाई पर्यटकको आकर्षणको केन्द्र बनाउने गरी तयारी थालिएको छ। प्रदेश न ५ प्रदेश सरकारले पनि पहिलो आफ्नो नीति तथा कार्यक्रममा जगदीशपुर तालको स्तररोन्नतीका लागि उच्च प्राथमिकतामा राखेको छ।
प्राकृतिक हिसावले अत्यन्तै आकर्षक र मनमोहक यो तालको पूर्वाधार विकास गगरी पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाहरूले पनि चासो देखाएका छन्। वाणगंगा सिंचाइ योजना अन्तर्गत कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यअनुरूप मानव निर्मित यो ताल १५७ हेक्टरमा फैलिएको छ। ताल आसपासमा पुग्ने जो कोहीलाई पनि यसको प्राकृतिक दृश्यले मन तान्ने गरेकाे छ।
किसानलाई सिंचाइ सुविधा समेत दिँदै आएको जगदीशपुर ताललाई आगामी दिनमा थप व्यवस्थित गर्न सके पर्यटन विकासका अतिरिक्त स्थानीय स्तरमा विकास र रोजगारीको प्रचुर सम्भावना रहेको स्थानीयको भनाइ छ। दुर्लभ पंक्षी तथा जलचरहरूको बासस्थान रहेको तालको संरक्षण कार्यलाई निरन्तरता दिन पछिल्लो समय जगदीशपुर जलाशय बहुसरोकार मञ्च गठन गरी काम अघि बढाइएपछि यसको विकासमा थप चासो बढ्दै गएको छ।
तालमा डुङ्गा सञ्चालन
मानव निर्मित ठूला तालहरू मध्येको एक जगदिपुर तालमा भर्खरै डुुङ्गा सञ्चालनमा ल्याइएको छ। तत्कालका लागि तालमा ६ वटा डुङ्गा सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तान्ने प्रयास सुरू गरिएको हो।
प्रदेश सरकारकै प्राथमिकतामा परेको तालमा विगतमा सञ्चालन भएर रोक्किएको डुङ्गा पुनः सञ्चालन भएपछि आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षण बढ्ने स्थानीय सुन्दर पाण्डेको विश्वास छ। जगदीशपुर तालमा तत्काल दुई वडाको पहलमा डुङ्गा सञ्चालन गर्न सकिएको जनाउँदै सो कार्यको निरन्तरताका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गरिने कपिलवस्तु नगरपालिका–९ का वडा अध्यक्ष शिवबहादुर वाग्लेले बताए।
पर्यटकहरूको आकर्षण वृद्धिका लागि थालनी गरिएको डुङ्गा सयरको कार्यक्रमलाई निरन्तरता दिन कपिलवस्तु नगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख किरण सिंहले बताए।
पर्यटकका लागि होमस्टे
कपिलवस्तु नगरपालिका–९, जगदीशपुरमा पहिलो पटक थारू समुदायले होमस्टे सुरू गरेका छन्। गौतम बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदीशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालनमा ल्याइएको हो।
नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल नजिकै रहेको जगदीशपुर गाउँमा जगदीशपुर जलाशय घरबासको शुरूवात गरिएको हो। तेह्र घरधुरीबाट शुरूवात गरिएको होमस्टेमा अहिलेसम्म २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदीशपुर जलाशय होमस्टेका सचिव सरिता थारूले बताए। होमस्टेमा क्यानडा, अमेरिका, श्रीलंका, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन्।
दुलर्भ चराहरूको बासस्थान
कपिलवस्तु नगरपालिका–९ मा पर्ने जगदीशपुर ताल सन् २००३ मा विश्व सिमसार सूचीमा सूचीकृत भएको थियो। नेपालको २७ वटा महत्वपूर्ण चरा क्षेत्र मध्येको एउटा क्षेत्र जगदीशपुर हो। सन् २००३ मा नेपाल सरकारको पहलमा अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा सूचीकृत गरेको थियो।
आई.यू.सि.एन. नेपालले सन् २०१५ मा गरेको अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावरहरू पाइने देखाएको छ।
जगदीशपुर ताललाई आगन्तुक चराको बासस्थान रहेको क्षेत्रका रूपमा अध्ययन केन्द्र बनाउन पूर्वाधारको विकासमा जोड दिनुपर्ने प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले बताए। उनले गहिरो जलाशय भए त्यस्तो ठाउँमा चराको बासस्थान सुरक्षित हुने पनि बताए।
मुख्यमन्त्री पोखरेलले जगदीशपुर ताललाई हरियाली क्षेत्रका रूपमा विकास गर्न र चरा आकर्षित हुने रूख लगाउन आग्रह गर्दै रूख रोपेका आधारमा प्रत्येक वर्ष प्रदेश सरकारले अनुदान दिने बताएका छन्।
तालमा साइबेरिया, रूस, चीन, मंगोलिया, तुर्किमिनिस्तान र कीर्गिस्तान लगायतका देशबाट चराहरू आउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए। ती देशहरूमा बढी जाडो हुने भएकाले चरा जाडो छल्न नेपालको तराईतिर आउने गर्दछन्।