तिहार नजिकिँदै गर्दा बुटवल प्रहरीले चार जुवाडेलाई ८२ हजार रुपैयाँसहित पक्राउ गरेको छ। गएराति ११ बजे बुटवल कालिकानगरमा तास खेल्दै गरेका चार व्यक्तिसहित सोे रकम जुवाखालबाटै बरामद गरिएको हो।
बुटवल–११ कालिकानगर बस्ने कुसुम खड्काबाट १७ हजार, सोही स्थानका मुक्त थापाबाट ३० हजार, गुल्मी रुरु–४ स्थायी घर भई हाल बुटवल–११ बस्ने रेशम खड्काका साथबाट १७ हजार ५ सय, तिलोत्तमा नगरपालिका–३ बस्ने रामचन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालयमै राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुटवल प्रहरीले केही दिनअघि पनि बुटवल बेलबासबाट ९ जना जुवाडेलाई पक्राउ गरेको थियो।