अभियुक्तलाई जोगाउन बलात्कार मुद्दामा पीडितको गलत स्वास्थ्य परीक्षण रिपोर्ट दिएको अभियोगमा दुई चिकित्सकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार अञ्चल अस्पताल, जनकपुरधाम, धनुषाका डा. भिके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतविरुद्ध मुद्दा दायर गरेको हो।उनीहरूले अभियुक्तलाई फाइदा हुने गरी गलत स्वास्थ्य परीक्षण रिपोर्ट बनाएको आरोप छ।
अनुसन्धानका क्रममा नियतबस नै उनीहरूले गलत रिपोर्ट दिएको खुलेपछि मेडिकल काउन्सिलले यसअघि नै उनीहरूको लाइसेन्स निलम्बन गरेको थियो। भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिएकाले दुई चिकित्सकविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए। नयाँ पत्रिका दैनिकमा खबर छ।