मुस्लिम समुदायले हरेक वर्ष आयोजना गर्ने लाठीमेला आइतबारदेखि मोरङको कटहरी गाउपालिकामा शुरु भएको छ।
मुस्लिम समुदायको मुख्यपर्व मोहरमको ४० दिनपछि लाग्ने लाठीमेलालाई चालिसा मेला पनि भनिन्छ। यो मेला दुई दिनसम्म लाग्ने गर्दछ।
लाठीमेलामा मुस्लिम समुदायले घरेलु हतियार प्रदर्शनी गर्दै विभिन्न खेल तथा कलाकौशल देखाउँछन्। मुस्लिम समुदायका गुरु हजर मोहम्मद पैगम्वरको सम्झनामा मुस्लिम समुदायले लाठीमेला आयोजना गर्ने गरेको मेला समितिका संयोजक मुखतार शेखले जानकारी दिए।
मेलामा मोरङ तथा सुनसरीका मुस्लिम समुदायले समुह वनाएर लाठी तथा घरेलु हतियार सहित कलाकौशल प्रर्दशनी गर्दछन्। मुस्लिम समुदायले आफनो संस्कृति, भेषभुषा अनुसार मेलामा झाँकी तथा ढोल नाँच देखाउने गर्दछन्।
मोरङका डायनिया, कर्सिया, सोराभाग, रंगेली, सिकटी तथा सुनसरीका एक दर्जन स्थानबाट जम्मा भएका दुईदर्जन भन्दा वढी युवाले मेलामा कलाकौशल प्रर्दशन गर्ने कटहरी गाउपालिका ४ का वडाध्यक्ष मन्टुु शेखले वताए।
मुसलिम समुदायको पर्ब भए पनि यो मेलामा पहाडी तथा मधेशी समुदायको समेत उल्लेखनीय सहभागिता रहने गरेकाले यो मेलालाई सामाजिक सद्भावनको रुपमा समेत लिने गरिएको वडाध्यक्ष शेखको भनाई छ।
लाठीमेलामा युवाहरुले ४० भन्दा वढि खेल प्रर्दशनी गरेका छन्। १२ देखि ६० वर्ष उमेरका मुस्लिम समुदायले प्रर्दशन गरको कलाकौशल हेर्न लायक थियो।