मकवानपुरको मनहरी ८ सिमपानीस्थित निर्माणाधीन पर्यटकीय क्षेत्र पिस पार्कमा फिलिपिन्सका राजकुमारी र शान्तिदूत आउने भएका छन् ।
फिलिपिन्सका राजकुमारी मारिया लियोन टोरिसर्स र शान्तिदूत अफिनिता चाइचाना मंसीर ३ गते मनहरी आउन लागेका हुन् । उनीहरुले यहाँ आयोजना हुने ‘सकारात्मक चिन्तनले मानसिक शान्ति’ बिषयक प्रवचन कार्यक्रममा सहभागिता जनाउने पिस पार्क व्यवस्थापन समितिले जनाएको छ ।
पिसपार्कमा फिलिपिन्सका राजकुमारी आउने भएपछि अहिले धमाधम निर्माण र सजावट कार्य भइरहेको छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौँडाको सहजीकरणमा बिगत ३ बर्षदेखि सिमपानी देवकोट संयुक्त सामुदायिक वन क्षेत्रमा पिस पार्क निर्माण भइरहेको छ । यसका लागि स्थानीय सामुदायिक वन, मनहरी गाउँपालिका तथा विभिन्न संघसंस्था र व्यक्तिहरुले आर्थिक लगानी गरिरहेको छ ।
पिसपार्कमा हेटौँडाका व्यवसायी ज्योतिरत्न बज्राचार्यले बुद्धको मुर्ति प्रतिस्थापना गर्न लागेका छन् भने विभिन्न संस्था तथा व्यक्तिहरुले गोलघर, गेट, लगायतका संरचनाहरु निर्माण गरिरहेका छन् ।
७ हेक्टर क्षेत्रमा फैलिएको पिसपार्कमा ध्यान केन्द्र, पोखरी, गोलघर, प्रतिक्षालयहरु लगायत भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।