जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा डा.नागेन्द्र प्रसाद यादव नियुक्त भएका छन् । स्वास्थय तथा जनसंख्या मन्त्रालयले आईतवार सिनियर मेडिकल अफिसर डा. यादवलाई अस्पतालको मेसुमा नियुक्त गरेको हो ।
झण्डै २ वर्षदेखि अस्पतालमा मेसुको रुपमा कार्यरत्त डा. रामपरीक्षण यादवको आईतवार अवकाश भएपछि डा. नागेन्द्र यादवलाई मन्त्रालयले मेसु बनाएको छ । मेसुमा नियुक्त भएपछि डा. नगेन्द्र यादवले अस्पतालको वर्तमान अवस्थालाई सुधार गर्ने बताएका छन् । यसअघि मेसुबाट सेवानिवृत्त भएका डा. रामपरिक्षया यादवले जाँदाजाँदै मुख्यमन्त्री लालबाबु राउतको निर्देशनलाई चुनौती दिँदै प्रक्रिया मिचेर कर्मचारी नियुक्ति गरेका छन् ।
प्रक्रिया पूरा नगरी अस्पतालमा करिब ६० जना कर्मचारीलाई उनले नियुक्त गरेका हुन् । आफ्ना नातागोता र आर्थिक लेनदेन गरी कार्यालय सहायकदेखि मुखिया, खरिदार, अनमी, स्टाफ नर्स तथा डाक्टरसम्मका कर्मचारी उनले नियुक्ति गरेको स्रोतले जनाएको छ ।
गत असोज १५ गते अस्पताल निरीक्षण गर्न पुगेका मुख्यमन्त्री राउतले अस्पताल विकास समिति विघटन भएर अञ्चल अस्पताल प्रदेश सरकार मातहत आइसकेको अवस्थामा कर्मचारी र अस्पताल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै मेसुसँगै सम्पूर्ण कर्मचारी अब प्रदेश सरकारले नियुक्त गर्ने बताएका थिए । तर, उनको निर्देशनलाई चुनौती दिँदै मेसु यादवले अस्पतालमा कर्मचारी भर्ना गरेका छन् ।