मोरङको १२ औं स्थानीय तहको रुपमा धनपालथान गाउँपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ। अब एक नम्वर प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिकाका दुईवटा वडा कटहरी, बूढीगंगा, जहदा गाउपालिका र सुनवर्षी नगरपालिका खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छन्।
यसमध्ये सुनवर्षी नगरपालिका जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट अन्तिम गुणस्तर अनुगमन समेत भइसकेको छ भने बूढीगंगा गाउँपालिका अन्तिम गुणस्तर अनुगमनको तयारीमा छ। धनपालथान गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश सभा सदस्य ज्ञानेश्वर राजवंशी र धनपालथान गाउँपालिका अध्यक्ष हरिलाल सिंहले धनपालाई खुल्ला दिसामुक्त गाउँपालिका घोषणा गरे।
उनीहरुले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराउँदै खुुला दिसामुुक्त गाउँपालिका घोषणा गरेका थिए। यसैगरी जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल र प्रदेश सांसद राजवंशीले जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका तर्फवाट गाउँपालिका अध्यक्ष सिंहलाई खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गरेका थिए।
गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले पूर्ण सरसफाइ प्रवद्र्धनका लागि गाउँपालिकाबासीसँग सामूहिक प्रतिवद्धता जनाएका थिए।
७ हजार ९ सय १८ घरधुरी रहेको धनपालथान गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी हुनुअघि ३ हजार १ सय ६६ घरधुरीमा सुरक्षित चर्पीको पहुँच रहेको थियो।
अभियानका क्रममा बाँकी ४ हजार ७ सय ५२ घरधुरीमा सुरक्षित चर्पीको निर्माण भएर सम्पूर्ण घरधुरीहरुमा सुरक्षित चर्पीको पहुँच पुगेको गाउँपालिकाका कार्यकारी अधिकृत बाबुराम लुुइँटेलले बताए। मंसिरभित्र मोरङ जिल्लालाई खुुला दिसामुुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको छ।