नेपाल प्रहरीलाई एसियाकै उत्कृष्ट प्रहरी बनाउने नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले घोषणालाई चुनौती दिदैं केही प्रहरी अधिकारी सीमानाकाबाट मोटो रकम असुल्दै तस्करीको लाइन खुलाउन व्यस्त छन्।
गत महिनामा बढुवा भएका प्रहरी निरीक्षक राजेश दत्त वीरगञ्ज सरुवा भएर गएपछि तस्करीको लाइन खुुलेको हो । प्रहरी हवल्दार जयमंगल सिं दत्तका दाहिने हात हुन्। मातहको प्रहरी अधिकारीले खुलेयाम रकम असुल गर्दा पनि पर्साका प्रहरी प्रमुख रेवती ढकाल मौन छन्। पर्सा प्रहरीका केही अधिकारीको भनाईमा राजेश दत्तको हातमा माइक्रो म्यानेजमेन्ट रहेको छ । जिल्लामा कसलाई कहाँ खटाउने सम्पूर्ण काम दत्तले नै गर्दै आएका छन्।
उनकै सेटिंगमा तस्करहरुलाई हप्तामा केही लाख रुपैंयाको सामान समातिने गरी लाइन उपलब्ध गराइएको छ । यसबाट प्रहरीको फेस सेभिंग हुने भएकोले यो नयाँ नीति दत्तले नै अबलम्बन गरेका हुन् । प्रहरी निरीक्षक दत्तले प्र.ह. श्याम सुन्दर साह, प्र.ज. सुनिल सिंह, प्र.ज. संजय जयसवाल, प्र.ज. राजु गुप्ता, प्र.ज. अनिल यादव, प्र.ज. फिरोज मियाँ लगायतलाई पैसा असुलीको लागि खटाएको एक प्रहरी अधिकारीले बताए।
सिन्धुली दरबन्दी भएका प्र.ह. दिलीप सिंहलाई पनि असुलीकै जिम्मा दिइएको छ । टाइगर टोली पैसा उठाउने मामलामा निकै बदनाम भएपछि अहिले यसको नाम परिवर्तन गरी क्वीक रेसपोन्स टिम राखिएको छ । जसको जिम्मेवारी प्रहरी हवल्दार सुजित यादव र प्र.ज. बालकृष्ण न्यौपानेले पाएका छन् ।
यो टोलीको काम सूचना संकलन भन्दा पनि द्रव्य संकलनमा केन्द्रित छ । प्रहरी निरीक्षक राजेश दत्तको प्रत्यक्ष निगरानीमा इ.प्र.का. जानकी टोलमा प्रनानि अनिरुद्ध भुजेल, इ.प्र.का. भिस्वामा प्रनानी गोकुल बलायर, इनर्वा प्रहरी चौकी मुल भन्सारमा प्र.ना.नी नहकुलराज गौतम, परवानीपुर इप्रकामा सई प्रेम खत्री, बजार छपकैया प्रहरी चौकीका इन्चार्ज प्र.ना.नी. नरेन्द्र चन्द, भकुवा नाकाका इन्चार्ज असई लोकनारायण श्रेष्ठलाई तस्करीको लाइन दिएर पैसा उठाउने छुट दिइएको छ ।
प्रदेश नम्बर २ का डीआइजी हरि पालले दत्तका बारेमा गुनासो आइरहेको बताए। उनले छानवीन गरी कार्बाही प्रकृया अघि बढाउने बताए। प्रहरी स्रोतका अनुसार दत्तको कामबारे परेको उजुरीमाथि छानवीन भइरहेको बताइएको छ। प्रहरी महानिरीक्षक खनालले दत्तलाई तत्काल कार्बाही गरिने स्पेसखरसंग बताए।