दुर्घटनामा पाँच तीर्थयात्रीको मृत्यु भएको शोकमा सप्तरीका सबै स्थानीय तह बन्द गरिएकाे छ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा बसेको बैठकले बस दुर्घटनामा परी मृत्यु भएकाको शोकमा आइतबार एक दिन जिल्लाका सम्पूर्ण स्थानीय तह बन्द गर्ने निर्णय गरेको थियो। सोही अनुसार सप्तरीमा रहेका ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तह आइतबार बन्द छन्।
सबै स्थानीय तहका सरकारी कार्यालय, सार्वजनिक संस्था, शिक्षण संस्था, इमर्जेन्सीबाहेक स्वास्थ्य संस्था र अन्य कामकाजलगायत सबै बन्द गरिएको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए।
सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को १ ख २७९९ नम्बरको बस अनियन्त्रित भएर सप्तरीको इनरुवा नजिकै रहेको पोखरीमा खसेको थियो।
दुर्घटनामा परी डाक्नेश्वरी नगरपालिका–५ की ७० वर्षीया वेचनीदेवी यादव, सोही नगरपालिका वडा नम्बर २ की ६० वर्षीया शिकिलादेवी साह, वडा नम्बर ४ का ५५ वर्षीय दिनेश रजक, सोही वडाकी ५० वर्षीया बौकीदेवी रजक र वडा नम्बर ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको थियो। उक्त दुर्घटनामा ४८ जना यात्रु घाइते भएका थिए।
तीमध्ये गम्भीर घाइते भएका १४ जनाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित नोवेल र न्यूरो अस्पतालमा उपचार भइरहेको छ।