सुर्खेतमा ट्राफिक प्रहरीले सवारी चालकहरुलाई सडकमै ट्राफिक सचेतना दिन थालेको छ । बढ्दो सवारी दुर्घटना र जोखिम न्यूनीकरण गर्न ट्राफिकले यो तरिका अपनाएको हो ।
वीरेन्द्रनगर बजार, विभिन्न नाका तथा सदरमुकाम बाहिरका मुख्य ठाउँमा सवारीसाधन रोकेर चेतना दिन थालेको हो । सडक, चोकहरुमै बस, जीप, अटो, ट्याक्टर, मोटरसाइकल रोकेर ट्राफिक प्रहरीले चालकसहित पैदल यात्रीहरुलाई सवारीसाधन ओभरटेक गर्ने, सडक पार गर्ने, हेल्मेट लगाउन सिकाउनेलगायतका ट्राफिक जनचेतना दिइएको सुर्खेतका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरिबहादुर विसीले बताएका छन् । कार्यालयमै बोलाएर दिएको जनचेतनाभन्दा सडकमै दिइएको जनचेतना प्रभावकारी भएको दावी उनको छ । अहिलेसम्म ३ हजार बढी चालकहरुलाई सचेतना दिइसकिएको उनले बताए ।
सडक, चोकलगायतका ठाउँको ठाउँमै जनचेतना दिंँदा सवारी चालकमात्र होइन पैदल यात्रुहरु पनि लाभान्वित भएको बीसीले जनाए । जिल्लाका विभिन्न १३ स्थानमा प्रत्येक दिन ट्राफिक प्रहरीले यस्ता सचेतना दिइरहेको छ । कार्यालयमा बोलाउँदा धेरैलाई फुर्सद नहुने, आउन नमान्ने प्रवृत्ति भएकोले अन द स्पटमै सचेतना दिइएको उनले बताए ।
वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीसमेत भएकाले पछिल्लो समय सवारी साधनको चाप र जनघनत्व ह्वात्तै बढेको छ । जसका कारणले ट्राफिक प्रहरीलाई व्यवस्थापनमा निकै चुनौती थपिएको छ । वीरेन्द्रनगरभित्रै आधा दर्जन बढी स्थानलाई जोखिमयुक्त दुर्घटनास्थलको रुपमा मानिएको छ । मंगलगढी चोक, वीरेन्द्र चोक, यरी चोक, तिनकुने चोक, देउतीबज्यै चोक, धुलियाविट चोकलगायतका स्थानहरुमा सचेतना कार्यक्रम बढी केन्द्रित गरिने ट्राफिक प्रहरी प्रमुख विसीले बताए ।
चार महिनामा १८ जनाको मृत्यु
चालु आर्थिक बर्षको चार महिनामा सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । सो अवधिमा २९ वटा दुर्घटना भएका छन् । जसमा ५३ जना घाइते भएका छन् । दुर्घटनामा पर्नेमा धेरैजसो मोटरसाइकल छन् । भदौमा आठ र कात्तिकमा पाँच जना मृत्यु भएको छ । चाडपर्वको बेलामा बढी दुर्घटना र मृत्यु हुनेको संख्या पनि बढेको ट्राफिक प्रहरी प्रमुख विसीले बताए ।
सात हजार बढीलाई कारबाही, ४४ लाख राजश्व
यसैगरी सोही अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ७ हजारभन्दा बढी सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने करिव ४४ लाख रुपैयाँ राजश्व उठाएको छ । सो अवधिमा सात हजार २ सय बढी सवारी साधनबाट ४३ लाख ८० हजार राजश्व उठेको विसीले बताए । जति शिक्षित भएपनि पढेलेखेका र जानेकैबाट ट्राफिक नियम उल्लंघन बढी हुने गरेको उनको भनाई छ। सुर्खेतमा दैनिक ३०० सवारीसाधन ओहोरदोहोर गरिरहने र नियम उल्लंघन बढी गर्ने हुँदा कारबाही गर्ने र राजश्व संकलन गर्ने दर बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
अटोलाई बाहिर जान रोक
छोटो दुरीका लागि भरपर्दो मानिएको अटोबाट बढी दुर्घटना हुन थालेपछि अहिले सदरमुकाम वीरेन्द्रनगरबाट बाहिर जान रोक लगाइएको छ । वीरेन्द्रनगरदेखि उत्तरतर्फ कपासेदेखि, पूर्व धुलियाविटदेखि र पश्चिम बांगेसिमलदेखि उता जान रोक लगाइएको हो । वीरेन्द्रनगर क्षेत्रको छोटो दुरीमा मात्रै संचालन गर्नुपर्ने अटोहरु बाहिरसमेत लैजाने र दुर्घटना बढी हुने गरेपछि रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख विसीले बताए ।