पछिल्लो समय दाङबाट गोरु तस्करी गरेर देशबाहिर लैजाने क्रम ह्वात्तै बढेको छ।
यसअघि सेटिङमा भारतबाट गोरु नेपाल भित्र्याएर तेस्रो मुलुक बंगलादेश लैजाने गरेकोमा अहिले दाङबाट पूर्वी नेपालको बाटो हुँदै बंगलादेश लैजान थालिएको छ। पछिल्लो समय दाङको देउखुरीमा अप्रत्याशित रुपले गोरुको कारोबार बढेको छ।
गाउँबाट गोरु खरिद गर्ने, एक ठाउँमा जम्मा पार्ने र ट्रकमा लोड गरेर अन्यत्र लैजाने क्रम बढेको छ। खेत जोत्न खरिदबिक्री गर्ने कागज बनाएर मासुका लागि तेस्रो मुलुकमा गोरु पुर्याउने गरिएको छ। प्रहरी, प्रशासनसँगको सेटिङमा दाङ, बाँके, बर्दियाबाट बढी मात्रामा गोरु तस्करी हुने गरेको स्थानीयले बताएका छन्।
यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ। राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो। गोरु ओसारपसारमा संलग्न व्यक्तिले लमहीमा रहेका गोरु कारोबारका प्रमुखलाई विवादबारे जानकारी गराएका थिए। त्यसपछि ९ वटा मोटरसाइकलमा २७ जना युवा घटनास्थल पुगेका थिए। उनीहरु गाउँमा पुगेपछि स्थानीय युवासँग झडप भएको थियो। झडपमा स्थानीयले सबैलाई लखेटेको र तस्करका सहयोगीका मोटरसाइकल जलाइदिएको स्थानीयले बताएका छन्।
प्रहरीले दुईवटा मोटरसाइकल भने सकुशल फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धान गर्न डीएसपी रामप्रसाद घर्तीलाई जिम्मेवारी दिएको छ। डीएसपी घर्तीले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्ने बताउनुभयो। मोटरसाइकलमा सवार लमही नगरपालिका–५ लमही निवासी अर्जुन गुप्तालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। नेपाल समाचार पत्र दैनिकमा खबर छ।