चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ।
पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ।
अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २ देखि ३ सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए।
साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएकोे तालको गहिराइ ६ फिट छ। तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ। आउने पर्यटक डुंगा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन्।
तालको मुख्य आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हो। तालमा डुुंङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन्। ‘अहिले एउटा मात्र डुङ्गा भएकाले पालो कुनुपर्ने हुन्छ,’ चौधरीले भने
तालमा डुंङ्गा चढेर जलविहार गरेमा प्रतिव्यक्ति ५० तथा मन्दिर दर्शनका लागि थप २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। जखेरा तालको अवलोकन गर्न कोहपुरबाट आएकी ४१ वर्षीया कालिका रेग्मीले पहिलो पटक आउँदा निकै आनन्द आएको बताइन्।
शिक्षण पेशामा संलग्न रेग्मी आफूले यति ठूलो ताल होला भनेर नसोचेको उल्लेख गरिन्।तुलसीपुर उपमहानगरपालिका–१० पशुपति माध्यामिक विद्यालयबाट शैक्षिक भ्रमणमा विद्यार्थीसहित पुगेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको जखेरा ताल अवलोकन गर्ने पहिलो रोजाइ भएको बताए। ‘एक हप्ताको शैक्षिक भ्रमणका लागि हिँडेका हाँै, विद्यार्थीले जखेरा तालबाट शुरुआत गर्नुपर्छ भन्न थाले त्यसैले यहाँ आएका हौँ’, उनले भने।
तालको संरक्षण संवद्र्धन गर्नसके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रेग्मीको भनाइ छ। ‘ताल त धेरै लोभ लाग्दो रहेछ। तालको छेउमा जाली, पर्यटकका लागि आवश्यक शौचालय तथा फोहरको उचित व्यवस्थापन गर्नु जरुरी छ।’ जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले तालको संरक्षणका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिए।
विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताए।
विगतका वर्षमा ताल जलकुम्भी झार र माटोले पुरिएको थियो। जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकासलगायतका कार्यालय, संरक्षण समिति तथा स्थानीयवासीको सहयोगले तालको संरक्षण गर्न सकिएको केसीले बताए।
ताल अवलोकन गर्न आउनेका लागि आवश्यकपर्ने शौचालय, खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्नका लागि ढुङ्गाको पर्याप्त व्यवस्था हुन नसक्नु यहाँको समस्या रहेको उनको भनाइ थियो।
तालसम्मको करीब डेढ किलोमिटर सडक कालोपत्र नहुँदा समस्या भएको छ। ‘तालको विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ,’ उनले भने।
तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ। विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ का स्वं दिपु चौधरीको नेतृत्वमा सोनपुर, टीकुलीगढ, फल्कापुर र श्री गाउँका स्थानीयवासी मिलेर खेर गइराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी चुरे पहाडको फेदमा खाडल खनी ताल बनाइएको थियो। रासस