पश्चिम मकवानपुरको प्रमुख व्यापारिक केन्द्र मनहरीमा चौथो मनहरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसीर २१ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी सकिएको आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले जनाएको छ ।
महोत्सवको उद्घाटन मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने भएका छन् । समितिका सभापति गोविन्दप्रसाद रिजालले सबै तयारी सकिएको र उद्घाटन सत्रमा मुख्यमन्त्री पौडेल र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा सहभागी हुने बताए । उद्घाटनअघि मनहरीको ८ नं वडा कार्यालयबाट महोत्सवस्थलमा झाँकीसहितको शोभायात्रा हुनेछ ।
महोत्सवमा स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिइएको आयोजकको दाबी छ । महोत्सवमा चेपाङ समुदायको जीवनशैली झल्कने घर तथा मिनी संग्रहालय ब्यवस्थापन गरिएको नेपाल चेपाङ संघ मकवानपुरले जनाएको छ ।
साथै यस क्षेत्रको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाले आफ्ना उत्पादनहरुको प्रवद्र्धन गर्नका लागि स्टलहरुको व्यवस्थापन गरेका छन् । यस क्षेत्रबाट उत्पादन हुने मास, गहत, तेलहन तथा माछा र तामालाई प्रबद्र्धन हुने गरी महोत्सव सञ्चालन गर्न दिइएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताएका छन् । उनले महोत्सव स्थलमा लिङ्गे पिङ, रोटे पिङहरु राख्नका लागि पनि सुझाव दिइएको सुनाए ।
यसैबीच गाउँपालिकाले महोत्सवमा पञ्चेबाजा प्रतियोगिता गर्ने भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकास्तरीय पञ्चेबाजा प्रतियोगिता गरिने अध्यक्ष उप्रेतीले बताए । महोत्सवमा २५० वटा स्टलहरु रहेका छन् । राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकारहरुले दैनिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको महोत्सवको व्यवस्थापक संस्था एनएस क्रियसन एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।