रूपन्देहीको देवदहमा पाँच वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ।
देवदह नगरपालिकाको खैरेनीमा दलित समुदायकी पाँच वर्षीया बालिकामाथि शुक्रबार साँझ सामूहिक बलात्कार भएको हो। बालिकाकी आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको समयमा बालिकालाई फकाएर घर नजिकैको टहरोमा लगेर बालिकालाई बलात्कार गरिएको हो। बालिका टहरो नजिकै रक्ताम्य अवस्थामा भेटिएपछि बलात्कार भएको पुष्टि भएको थियो।
बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ६ जना स्थानीय युवालाई पक्राउ गरेको छ। तीमध्ये दुई जना बलात्कारमा संलग्न भएको पुष्टि भएको र अन्यमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए।
पक्राउ परेका देवदह–६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका हुन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय राजु परियार, बोधे विक र दिनेश विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बलात्कृत भएकी बालिकालाई थप उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।