कक्षा ११ को विज्ञान विषयका नतिजा प्रकाशनमा राष्ट्रिय परीक्षा बोर्डले लापारवाही गरेको भन्दै विद्यार्थीहरु सोमबारबाट रिले अनसनमा बसेका छन् ।
कक्षा ११ को परीक्षाको उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनमा परीक्षा बोर्डले गम्भीर त्रुटि गर्दा विद्यार्थीको भविष्य अन्योलमात्रै होइन, मानसिक यातना पाएको भन्दै विद्यार्थी संगठनका नेताले अनसन थालेका हुन् ।
विज्ञान विषयमा कक्षा ११को परीक्षा दिने गण्डकी प्रदेशका २ हजार ७ सय ३९ भन्दा बढी विद्यार्थीको भविष्यमाथि गम्भीर लापरबाही भएको भन्दै विद्यार्थी, अभिभावक, शैक्षिक संगठनले आन्दोलन गरिरहेका छन् । कक्षा १२ को परीक्षा मिति पछि सारेर फेरि कक्षा ११ को उत्तर पुस्तिका जाँच्न उनीहरुले माग छ ।
नतिजा त्रुटिपूर्ण भएका विषयको उत्तर पुस्तिकाको पुन परीक्षण गराई १५ दिन भित्र नतिजा प्रकाशन गर्नु पर्ने भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, आखिल छैटौं, नयाँ शक्ति विद्यार्थी संगठनका नेताले रिले अनसन थालेका हुन् ।
पीडित विद्यार्थीहरुले आइतबार नै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले शिक्षामन्त्री गिरिराजमणि पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले असोज २० कक्षा ११ को नतिजा सार्वजनिक गरेको थियो । विज्ञान समूह अन्तर्गत रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयमा विद्यार्थीको सी ग्रेडभन्दा कम आएको भन्दै कास्कीका विद्यार्थीले रिटोटलिङ (पुनर्याेग) गराएका थिए ।
रिटोटलिङको नतिजा मंसिर १२ गते बोर्डले प्रकाशन गर्यो । तर, पहिलेभन्दा पनि कम र अनपेक्षित नतिजा आएको भन्दै यहाँका शिक्षासँग सम्बन्धित सरकारवालाले फेरि आन्दोलन थालेका हुन् । विज्ञान संकायबाट परीक्षा दिने २ हजार ७ सय ३९ विद्यार्थीमा १ सय ३२ जनामात्र विद्यार्थीको नतिजा तलमाथि गरी उपलब्ध गराएको उनीहरुको दाबी छ ।
कक्षा १२ को पढाइ चलिरहँदा ११ नतिजाले विद्यार्थीमा मानसिक असर परेको विद्यार्थी पवन गिरीले बताए । नतिजा जाँच्ने बेला नै गम्भीर लापरबाही गरेर विद्यार्थीलाई मानसिक यातना दिने काम भएको भन्दै यहाँका विद्यार्थी, विद्यार्थी संगठन, विद्यालय र विद्यालयहरुको संस्थाले उत्तरपुस्तिकाको पुनर्परीक्षणको माग गर्दै आन्दोलनमा उत्रेका हुन् ।
हिसान कास्की पूर्व अध्यक्ष बाबुराम पन्तले कापी नै नजाँची नतिजा प्रकाशन गरिएको बताए । सबै विद्यार्थीको अंक डी र ई ग्रेडमात्र आउने कुरा हुनै नसक्ने उनको भनाइ छ । कलेजकै टप विद्यार्थीको पनि डी र ई ग्रेड आएको भन्दै पन्तले बोर्डको चरम लापरबाहीका कारण विद्यार्थीको भविष्य माथि खेलवाड भएको बताए ।