पूर्वपश्चिम गण्डक नहरअन्तर्गत आवतजावत गर्नका लागि बनाइएका दर्जनौँ पुल जीर्ण हुँदा दिनहुँ दुर्घटना भइरहेका छन्।
आवश्यक मर्मतसम्भार तथा उचित रेखदेखको अभाव र ट्राफिक नियमविपरीत चल्ने सवारीसाधनका कारण गण्डक नहरको पर्सा, बारा र रौतहट जिल्लाअन्तर्गत बनेका दर्जनौँ पुल क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ।
गण्डक नहरमा सिचाईं प्रणालीको सवारीसाधन सञ्चालनका लागि भनेर वर्षौ पहिला निर्माण गरिएको त्यस्ता पुलबाट ठूला मालबाहक ट्रक, साना ठूला बस र ट्याक्टरजस्ता सवारीसाधन अव्यवस्थित रुपमा सञ्चालन भइरहेकाले पुलको सतह र रेलिङ भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीयवासी बताउँछन्।
त्यस्तै यी दुवै जिल्ला हुँदै बग्ने जमुनी, तियर, त्रिवेणी तथा अरुवा नदीमा निर्माण भएका पुराना पुल पनि ठाउँठाउँमा भत्किएको छ। यी पुलका क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रकदेखि अन्य सवारीसाधन सञ्चालनका कारण जीर्ण भएका पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन्। ती जीर्ण पुलबाट सवारीसाधन पल्टिँदा कयौं यात्रुको मृत्यु भएका छन् भने कयौंका हातखुट्टा भाँच्चिएको स्थानीयवासी बताउँछन्।
यसरी दुर्घटनाको उच्च जोखिममा रहेको यस्ता पुलको मर्मतसम्भारको जिम्मा कुन निकायले लिइने भन्ने प्रश्न उठिरहेकोे बाराका विनोद पासवानले बताए। गण्डक नहर सिचाईं प्रणालीअन्तर्गतका पुलको जिम्मा सो प्रणालीले लिनुपर्ने स्थानीय तहको भनाई छ तर गण्डक नहरमा सिचाईं प्रणालीले नियमविपरित ठूलठूला मालवाहक ट्रक सञ्चालन भइरहेकाले यसको जिम्मा स्थानीय सरकारले लिनुपर्ने जनाएको छ।
बारा र रौतहट जिल्लाको सिमानामा रहेका यी नहर तथा नदीमा रहेका पुल जीर्ण भई उच्च जोखिममा रहेकाले यस क्षेत्रका स्थानीयवासी त्रसित भएको बौद्धिमाई नगरपालिकाका समाजसेवी जयमङ्गल कुश्वाहाकाे भनाइ छ।