गण्डकी प्रदेश सरकारले चैतभित्र आवधिक योजना बनाउने भएको छ । यसका लागि नीति तथा योजना आयोगले विज्ञ र सरोकारवालासँग पहिलो चरणको कार्यशाला गरेको छ । बिहीबार सकिएको छलफलबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको योजना आयोग उपाध्यक्ष डा. गिरिधारी शर्मा पौडेलले बताए ।
प्रदेशले पहिलोपटक आवधिक योजना बनाउन लागेकाले धेरै तिरबाट तथ्यांक संकलन गरी योजना बनाउन थालेको उनको भनाइ थियो । उनले भने,‘पुस महिनाभरि ११ वटै जिल्लामा पुगेर छलफल गर्ने, माघमा अवधारणा पत्र बनाउने, त्यसपछि प्रदेश विकास परिषदमा छलफल गरी चैतमा आवधिक योजना तयार पार्छौं ।’ ५ वर्षे अल्पकालीन, १२ वर्षे मध्यकालीन र २५ वर्षे दीर्घकालीन योजना बनाए पनि लागत अनुमान भने ५ वर्षे योजनाको मात्रै निकालिने भएको छ ।
नेपालमा अहिलेसम्म बनाइएका लामा योजना प्रभावकारी हुन नसकेको अवस्था अब भने गण्डकी प्रदेशले त्यसो हुन नदिने उनको भनाइ थियो । २ दिन चलेको कार्यशालाको समापन गर्दै मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले दीगो विकास लक्ष्य प्राप्त गर्ने गरी प्रदेशले योजना बनाउन लागेको बताए ।
उनले भने,‘उत्पादकत्व र रोजगारी बढाउने, प्राविधिक शिक्षामा जोड दिने, विदेशिने जनशक्ति रोक्ने खालका योजना हामीलाई चाहिएको छ ।’ नेपालका विश्वविद्यालयको उत्पादित जनशक्ति विकाससँग जोडिन नसकेको भन्दै मुख्यमन्त्री गुरुङले सिपयुक्त जनशक्ति उत्पादन गर्ने गरी अब प्रदेश सरकारले शिक्षालय बनाउन लागेको भनाइ राखे ।
उनले भने,‘ब्रेनड्रेन रोक्ने मात्र हैन, अन्य प्रदेशलाई जनशक्ति उपलब्ध गराउने हाम्रो लक्ष्य हो ।’ ठूला योजनामा लगानीका लागि निजी क्षेत्रको सहकार्यमा प्रदेश सरकारले बैंक खोल्न चाहेको उनले बताए । अन्य प्रदेशका सदरमुकाम र मित्रराष्ट्रका सहरहरुमा हवाइ सम्पर्क जोड्न प्रदेशले आफै एअरलायन्स चलाउने सोच बनाएको उनले सुनाए । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने गरी योजना बनाउन उनले आयोगलाई सुझाव दिए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले दीगो विकासका लागि कुनै पनि खालका अनुदान स्वीकार गर्न नहुने बताए । उनले भने,‘ऋण खानु, भीख नमाग्नु भन्छन्, कुनै पनि नाममा दिइने अनुदानले समृद्धि सम्भव छैन ।
बिहीबार पूर्वसचिव शान्तराज सुवेदीले समष्टिगत आर्थिक नीति, पुननिर्माण प्राधिकराणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पूर्वाधार क्षेत्रका रणनीति र कार्यनीति, प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले सामाजिक क्षेत्रका रणनीति र कार्यनीति बारेमा आधारपत्र प्रस्तुत गरेका थिए । बुधबार योजना आयोगका पूर्व अध्यक्षहरु डा.पीताम्बर शर्मा, दीपेन्द्रबहादुर क्षेत्री, पूर्वसचिव सुरेशमान श्रेष्ठ, बालानन्द पौडेल, विश्लेषक झलक सुवेदी लगायतले प्रस्तुति गरेका थिए ।