कर्णाली प्रदेशबाटै लाइसेन्स नवीकरणको सेवा प्रवाह शुरु भएको छ।प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको पहलमा भौतिक पूवार्धार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतबाट सवारी चालक अनुमति पत्र नविकरण सेवा शुरु गरेको हो ।
बिहीबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काको अनुमति पत्र नविकरण गरी सेवा उद्घाटन गरेका हुन् । उक्त सेवा सुचारु भएसंगै विभिन्न अञ्चलबाट निर्मित लाइसेन्स सुर्खेतमा नै नविकरण गर्न सकिने छ ।यसअघि नविकरण सेवा लिन सेवाग्राहीहरु प्रदेश ५ को नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो ।
कार्यवहाक मुख्यमन्त्री ज्वालाले प्रदेशकै यातायात व्यवस्था सेवा कार्यालयलाई सक्षम बनाउन आवश्यक बजेट विनियोजन गर्ने र नयाँ लाइसेन्स वितरण सेवा पनि छिट्टै नै सञ्चालनमा ल्याइने बताएका छन् ।यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा दिनका लागि व्यवस्थापन गर्न प्रदेश सरकार लागेको उनले बताए ।उनले सेवालाई निरन्तर र जनमुखी बनाउने प्रतिवद्धता व्यक्त गरे ।
भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्ग खत्रीले आफु बन्ने मात्र नभएर सेवा प्रवाहमा प्रथामिकता दिनुपर्ने बताए ।सक्षम व्यक्तिलाई लाइसेन्स दिएको अवस्थामा दुर्घटना जस्ता समस्याहरुमा कमी आउने भन्दै मन्त्री खत्रीले सबै मान्छे आ–आफ्नो क्षेत्रमा इमान्दार बनेको अवस्थामा देश बनाउन धेरै समय नलाग्ने बताए ।
यस्तै अब कार्यालयले केही समयपछि प्रदेशको राजधानी सुर्खेतबाटै चालक अनुमति पत्र दिने भएको छ। अहिले कार्यालय भौतिक पूर्वाधार तथा आवश्यक प्रक्रिया मिलाउन थालेको कार्यालयले जनाएको छ। ‘हामीले जति सक्यो छिटो चालक अनुमति पत्र दिने गरी आवश्यक पूर्वाधारको काम गरिरहेका छौँ।’
कार्यालयका निमित्त प्रमुख बोगटीले भने, ‘माघ महिनाभित्रै लाइसेन्स लिने नेपालगञ्ज जानुपर्ने बाध्यता हटाउने प्रयासमा छौँ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागले यस अघि नै सुर्खेतमा रहेको यातायात व्यवस्था सेवा कार्यालयलाई चालक अनुमति पत्रका लागि आावश्यक पूर्वाधारको व्यवस्था गर्न सुझाएको थियो।