पश्चिम मकवानपुरको मनहरी बजारबाट मनहरी गाउँपालिका ६ रुपाचुरी जोड्ने ग्रामीण सडकमा भएको सोमबार साँझ बोलेरो भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय मनहरीले दिएको जानकारी अनुसार गुडिरहेको भ्यानको स्टार्ट बन्द हुँदा गाडी ब्याक भई भिरालो ठाउँबाट खसेको थियो । मनहरी बजारबाट यात्रु तथा खाद्यान्न बोकेरे रुपाचुरीतर्फ जाँदै गरेको ग १ ज ६१३२ नंको बोलेर कान्छीमोड भन्ने स्थानमा दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा मनहरी ७ का ५७ वर्षिया अजम्बर ब्लोन, मनहरी ६ का २० वर्षिय मनिराज लामा, मनहरी ६ कै बिमान तामाङ, ६६ वर्षिया ठुलि माया रुम्बा, ३३ बर्र्षिया किबिता वाईबा, २७ वर्षिया प्रिती थिङ, ४३ वर्षिया ठुलीमाया बल, २४ बर्षीया नानी मुक्तान, ७६ बर्षीया कालिबहादुर घलान र १७ वर्षिया राममाया मुक्तान रहेका छन् ।
घाइतेहरुको हातखुट्टा भाँचिनुका साथै ठाउको, ढाड लगाएतका अंगहरुमा चोटपटक लागेको छ । उनीहरुको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख बीरेन्द्र पनेरुले बताए । बोलेरो चालक घटनापछि फरार रहेका छन् । उनको खोजी प्रहरीले गरिरहेको छ ।