झापाका दुई विभिन्न स्थानमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ।
बाह्रदर्शी गाउँपालिका–५ सातडिग्रीका बलबहादुर दर्जीको एकतले कच्ची घरमा सोमबार आगलागी हुँदा करीब आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। विद्युत् सर्ट भई दर्जीको घरमा आगलागी भएको हो।
यस्तै कचनकवल गाउँपालिका–४ खुट्टामुनीमा आठ बिघा क्षेत्रफलमा लगाइएको धानको कुन्यूमा सोमबार आगलागी हुँदा छ लाख बराबरको क्षति भएको छ।
स्थानीयवासी जाहित मियाँको दुई बिघामा लगाइएको धानको कुन्यूमा अचानक आगलागी भएको र सोही आगोबाट स्थानीयवासी साकिर मियाँ, सहिदुल मियाँ र जाकिर मियाँले लगाएको ६ बिघा धानको कुन्यूमा आगो सल्किएर धान र पराल जलेर नष्ट भएको छ। दुवै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। रासस