सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भएको घोषणा गरिएपनि सुर्खेतमा वर्षेनी २६ जना नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको छन्। कर्णाली प्रदेशमा कुष्ठरोगका ११४ जना नयाँ बिरामी फेला परेका हुन्।
आर्थिक वर्ष २०७४-०७५ मा प्रदेशका १० जिल्लामा नयाँ रोगी पत्ता लागेका हुन्।तीमध्ये सर्ने सम्भावना भएका १०५ र नसर्ने ९ जना छन्। सुर्खेतमा कुष्ठरोग सम्वन्धी उपचार र निवारण गर्दै आएको आइएनएफ सुर्खेतले जिल्लामा प्रति वर्ष २६ जनासम्म नयाँ कुष्ठरोगीहरु फेला पर्ने गरेको जनाएको छ।
गैरसरकारी संस्था आइएनएफका अनुसार सबैभन्दा बढी बिरामीको संख्या सुर्खेतमा देखिएको छ। सुर्खेतमा एक वर्षको अवधिमा २६ जना नयाँ बिरामी फेला परेका छन्। आइएनएफ सुर्खेत क्लष्टर इन्चार्ज मंगल थारुले नयाँ फेला परेका कुष्ठरोगीहरुमा धेरैजसो बढी किटाणुबाट संक्रमित भएको पाइएको छ। जसबाट अरुलाई छिट्टै सर्न सक्छ। बढी किटाणु भएका कुष्ठरोगीहरुलाई जतिसक्यो छिटो उपचारमा ल्याउन सके यो रोग नियन्त्रण गर्न सकिने इन्चार्ज थारुले बताए।
इन्चार्ज थारुका अनुसार जाजरकोटमा २०, दैलेखमा १०, कालिकोट र रुकुममा ९-९ जना नयाँ बिरामी फेला परेका छन्। यस्तै, जुम्ला, मुगु र सल्यानमा ३-३ र हुम्लामा एक जना बिरामी फेला परेका छन्। सरकारले सन् २०२० सम्ममा नेपालबाट कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य लिएको छ।
प्रति १० हजार जनसंख्यामध्ये एक जनाभन्दा कम गर्ने लक्ष्य लिइए पनि बिरामीहरू वर्षेनी बढ्दै जाँदा यसमा चुनौती देखिएको छ। आईएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालका प्रबन्धक मंगल चौधरीका अनुसार नेपालमा पनि वर्षेनी ३ हजारभन्दा बढी कुठरोगका बिरामी फेला पर्ने गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यो क्रम बढ्दो मात्रामा देखिएको छ।
उनका अनुसार अहिले कर्णाली प्रदेशका जाजरकोट, दैलेख, कालिकोट र रुकुममा नयाँ कुष्ठरोगी फेला पर्ने क्रम निकै बढेको छ। सुर्खेतमा प्रति १० हजारमा एक जनाभन्दा कमलाई कुष्ठरोग हुने गरेको पाइएपनि नयाँ फेला पर्ने क्रमपनि नरोकिएकोले उपचारमा चुनौती थपिएको आइएनएफ सुर्खेतले जनाएको छ।
साइनिङ अस्पतालमा साउन यता १० जना बिरामी उपचारमा आएका छन्। गत वर्ष ६० जना बिरामी उपचारमा आएको अस्पतालले जनाएको छ। अस्पतालले हालसम्म १० हजार ८ सय बिरामीलाई सेवा दिएको छ। कुष्ठरोग उपचारका लागि अस्पतालमा २५ वटा शय्याको क्षमता छ। गत वर्ष १४६ जना उपचारका लागि भर्ना भएको अस्पतालका प्रबन्धक चौधरीले बताए।
ब्याक्टेरियाका कारण कुष्ठ रोग लाग्छ, जुन श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्काेमा सर्छ।
शरीरमा नचिलाउने रातो तथा फुस्रो दाग देखा परेमा, हात, खुट्टा तथा आँखाको मांसपेशी कमजोर भएमा, कानको लोती बाक्लो भएमा तथा शरीरमा गिर्खाहरू देखा परेमा कुष्ठरोगको लक्षण हुन सक्ने चौधरीले बताए। 'धेरैजसो अल्सर र औषधीको ‘साइड इफेक्ट’का कारण नशामा प्रभाव पार्छ र त्यसका कारण नशामा स्पर्श शक्ति हराउँछ,' चौधरीले भने, 'छालामा लाटोपना हुनु र छुँदा थाहा नहुनेजस्ता लक्षण देखा पर्छन्।' समयमै उपचार नभएमा अंगभंग हुन सक्ने उनले बताए। उपचार गराएमा रोग लागेको ६ देखि १२ महीनाको अवधिमा निको हुने उनले बताए।
कुष्ठरोगको क्षेत्रमा शोध गरिरहेकी सुडानकी डा. उल्लाब्रिट एंगेल ब्रेक्टसनले मानव इतिहासको पुरानो मानिने यो रोग लाग्ने बित्तिकै धामी–झाँक्रीतिर जाने हुँदा उपचारमा ढिलो मात्र आउने गरेको पाइएको बताइन्।