कर्णाली प्रदेशको सुर्खेत जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएका छन्। पछिल्लो तथ्यांक अनुसार सुर्खेतमा १४८ जना महिलाहरुले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गराएका छन्।
अदालतका अनुसार साउनमा ३२, भदौमा २२, असोजमा २१, कात्तिकमा २८, मंसिरमा २६ र पुस १७ गतेसम्म १९ जना महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराएका छन्। नयाँ मुलुकी संहितामा पुरूषले पनि सम्बन्ध विच्छेदका लागि मुद्दा दिन पाउने व्यवस्था भएसँगै जिल्ला अदालतमा सुर्खेतमा ५८ पुरूषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दिएको पाइएको छ।
जिल्ला अदालत सुर्खेतका अनुसार चालु आर्थिक वर्षको साउनमा २, भदौमा १७, असोजमा १०, कात्तिकमा ११, मंसिरमा १२ र पुस १७ गतेसम्म ६ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएका हुन्। यसअघिको कानुनमा पुरुषका तर्फबाट सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था थिएन। भदौ १ गतेबाट लागू भएको मुलुकी संहितामा पुरुषले चाहेमा पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था गरिएसंगै पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दायर गर्न थालेको जिल्ला अदालत सुर्खेतले जनाएको छ।
आर्थिक अभाव र लागुऔषध कुलतका कारण घरवार बिग्रिने गरेको छ। रोजगारीका लागि विदेश गएका अधिकांश पुरुष र महिलाहरुको पारिवारिक सम्बन्ध दिगो नहुने गरेको जिल्ला अदालत सुर्खेत जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुबकुमार शाहले बताए। उनका अनुसार अधिकांश सम्बन्ध विच्छेदका मुद्दा बैदेशिक रोजगारमा गएकाहरुको परिवारवीच आर्थिक कारोवारका कारण हुने गरेको छ।
विदेशबाट पठाएको रकम हिनामिना भएपछि पारिवारिक सम्बन्ध बिग्रिने अवस्था आउने गरेको छ। जसले गर्दा सम्बन्ध विच्छेदका लागि अदालतसम्म पुग्ने गरेका छन्। श्रीमानले विदेशमा अर्को राखेको र श्रीमती स्वदेश परपुरुषसँग लागेको भन्दै अदालत जाने गरेको पाइन्छ।
सरकारले रोजगारको श्रृजना गर्न नसक्दा रोजगारका लागि विदेश जाने बध्यताका कारण सम्बन्ध विच्छेदका घटना बढ्ने गरेको स्थानीय अधिकारकर्मीको भनाइ छ। यसलाई निरुत्साहित गर्न स्वदेशमै रोजगारीको सृजना गर्न आवश्यक भएको उनीहरुको जोड छ। अदालतमा आउने अधिकांश सम्बन्ध विच्छेदका मुद्दा रोजगारीमा गएका र लागुऔषधको दुर्व्यसनीमा परेका परिवारबीच आउने गरेको छ।