चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ। दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो।
महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै हो। महिला कैदीबन्दी गृहमा क्षमताभन्दा चौगुणा बढी राख्नुपरेको कारागारका शाखा अधिकृत तथा जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। आश्रित पाँच बालबालिका पनि महिला कैदीबन्दी गृहमा बस्छन्।
मकवानपुर जिल्लामा महिला कैदीबन्दी गृह नभएका कारण सबै चितवन ल्याउने गरिएको काफ्लेले बताए। आधा महिला कैदीबन्दी मकवानपुर जिल्लाका मात्रै छन्। 'लागुऔषध र मानव बेचबिखनका घटना मकवानपुरमा धेरै हुने गरेका छन्, काफ्लेले भने, 'त्यस कारण पनि धेरै महिला कैदीबन्दी मकवानपुरबाट ल्याइने गरिएको छ।'
आर्थिक वर्ष २०७४-७५ मा पुस महीनामा ६०० कैदीबन्दी रहेका थिए । त्यसयता चितवन कारागारले एकैपटक ७०० बढी कैदीबन्दीको भारसमेत थेग्नुपरेको काफ्लेले बताए। विभिन्न अपराधमा मुद्दा खेपिरहेका कैदी तथा बन्दीको सङ्ख्यामा अधिक वृद्धि भएको कारण कारागार सञ्चालनमा समस्या हुनेगरेको उनको भनाइ छ।
छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकोले चाप झन बढेको काफ्लेले बताए। रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ। पूर्वी नवलपरासीबाट अहिलेसम्म ८९ बन्दी चितवन ल्याइएका छन्।
कारागारमा सबैभन्दा धेरै जबर्जस्ती करणी मुद्दाका १ सय ५६ जना, लागूऔषध बिक्री तथा प्रयोग गर्नेमा १५० जना, गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न १०६ छन्। यस्तै, कर्तव्य ज्यान मुद्दाका ८८, सवारी ज्यान मुद्दाका ४८ चोरी मुद्दाका २७ जना तथा मानव बेचबिखन मुद्दाका ३० कैदी तथा बन्दी रहेका छन्। अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन तर, यो मान्यताभन्दा धेरै गुणा बढी बन्दीको कारागार बसाई कष्टपूर्ण बनिरहेको छ।